ब्राईट भिजन कलेजमा नमूना अदालतमा वहस प्रतियोगिता सम्पन्न

हाम्रो पेज

१४ श्रावण २०८२, बुधबार १६:४८
विराटनगर, १४ श्रावण । विराटनगरस्थित ब्राइट भिजन ल कलेजले गरेको नमूना अदालत (मुट कोर्ट) प्रतियोगितामा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल र मनिष सिग्देलको टोली प्रथम भएको छ ।
प्रतियोगितामा रञ्जना घिमिरे, कृतिका ढकाल, अनुशा आचार्य र अमृता कटुवालको समूह दोश्रो भयो भने अविशा निरौला, आयुशा राई, प्रश्रित ढकाल र प्रविण सापकोटाको टोली तेश्रो स्थानमा रह्यो ।
गोग्राह जिल्ला अदालत पोखरिया नाम दिईएको नमूना अदालतको न्यायाधीशको भूमिकामा भने मोरङ जिल्ला अदालत र उच्च अदालतका न्यायाधिश तथा वरिष्ठ अधिवक्ताहरु रहनुभएको थियो । उच्च अदालत विराटनगरका न्यायाधिश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारीले विजेता, उपविजेता र तेश्रो हुने समूहको घोषणा गर्नुभएको हो ।

कोशी प्रदेशमै पहिलोपटक ब्राइट भिजन कलेजले गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि आवश्यक भएकाले यसखाले (मुट कोर्ट) प्रतियोगिता आयोजना गरिएको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा विद्यार्थीहरुले काल्पनिक मुद्दामाथि बहस गरेको उहाँले बताउनुभयो । मुट कोर्टले कानुनका विद्यार्थीलाई आफ्ना भावी दिनमा उत्कृष्ट अधिवक्ता बन्न प्रशिक्षित गर्ने कलेजका प्रमुख आचार्यले बताउनुभयो ।
फाईनल प्रतियोगिताका प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराईले नमूना अदालत भएपनि आफुले साच्चिकै इजलास जस्तै अनुभूति गरेको प्रतिक्रिया दिनुभयो । उहाँले प्रतिष्पर्धी विद्यार्थीहरु स्थापित कानुन व्यवसायी जस्तै भएको आफुले पाएको बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको तर्क, क्षमता र अनुसन्धानको विकास हुने मुख्य न्यायाधिश भट्टराईले बताउनुभयो ।