मनसुन थप सक्रियः आज राति पश्चिममा भारी वर्षा, २५ जिल्लामा बाढीको ‘एल्लो अलर्ट’ जारी

हाम्रो पेज

२२ असार २०८२, आईतवार १२:३२

विराटनगर, २२ अषाढ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै आइपुगेसँगै देशभर मौसम थप सक्रिय बनेको छ। जल तथा मौसम विज्ञान विभागले आज राति विशेषगरी पश्चिमी नेपालमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याएको छ भने बाढी पूर्वानुमान महाशाखाले २५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै ‘एल्लो अलर्ट’ पहेँलो संकेत जारी गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। तर, राति मनसुनको प्रभाव अझ बढ्ने देखिन्छ। महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। त्यसैगरी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्नेछ।
सोमबार पनि कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमानः कहाँ छ बढी जोखिम ?


मौसमको यो अवस्थासँगै बाढी पूर्वानुमान महाशाखाले आज आइतबारका लागि विस्तृत सतर्कता सूचना जारी गरेको छ। कोशी, महाकाली, कमला, बागमती, राप्ती र बबई जस्ता ठूला नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तलै छ। तर, नारायणी र कर्णाली जलाधारका केही सहायक नदीहरूमा जलसतह बढ्दो क्रममा रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। साना नदीनालामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, जाजरकोट, दैलेख तथा लुम्बिनी प्रदेशका रोल्पा, प्यूठानमा विशेष सतर्कता अपनाउन भनिएको छ ।यस्तै बागमती र गण्डकी प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, बागलुङ, र पर्वतमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ५ जिल्लाका नदीतटीय क्षेत्र तथा होचा भूभागमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।