search logo
NOTIFICATIONS

विराटनगरमा दिउँसै लुटपाटः ‘प्रहरी हुँ’ भन्दै ३ लाख लुट्ने समूहका एक सदस्य पूर्व वाईसीएल कार्यकर्ता

हाम्रो पेज

१९ असार २०८२, बिहीबार १३:१७

विराटनगर, अषाढ १९। विराटनगरमा आफूलाई प्रहरी बताउँदै एक व्यक्तिलाई बन्धक बनाएर नाटकीय शैलीमा नगद लुटपाट गर्ने समूहका तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये एक जना नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) का पूर्वसदस्य कुशल पाण्डेसमेत रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण र पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो।
कसरी भयो घटना ?


प्रहरीका अनुसार, गत असार ११ गते दिउँसो ११ः१५ बजे विराटनगर महानगरपालिका वडा नं १५ का २० वर्षीय विक्रम कुमार साहु तेलीले बैंकबाट रु ३लाख ६४ हजार झिकेर सिटी सफारीमा घरतर्फ जाँदै हुनुहुन्थ्यो । रानीस्थित राइस मिल छेउमा पुग्दा रातो रङको स्कुटरमा आएका ३ जना अपरिचित व्यक्तिले उहाँको सिटी सफारी रोकेका थिए। आफूहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी भएको र अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरूले विक्रमलाई जबरजस्ती स्कुटरमा राखेका थिए। त्यसपछि उनीहरूले विक्रमलाई विराटनगर १४ स्थित जतुवाको एकान्त स्थानमा पुर्‍याई ज्यान मार्ने धम्की दिई उहाँसँग भएको रकम लुटेर फरार भएका थिए। पीडित विक्रमले दिएको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले तत्काल अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गर्न सफल भयो। प्रहरीले १५ गते घटनामा संलग्न विराटनगर ८ का २४ वर्षीय समिर हुसेन र विराटनगर६ का २७ वर्षीय आशिक अन्सारीलाई पक्राउ गर्‍यो। उनीहरूको बयान र थप अनुसन्धानका आधारमा घटनाका अर्का मुख्य योजनाकार मानिएका विराटनगर ११ का २५ वर्षीय कुशल पाण्डेलाई बुधबार गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कुशल पाण्डे नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन वाईसीएलका पूर्व सदस्य हुन्। प्रहरीका अनुसार, पाण्डे यसअघि पनि मोरङको जहदामा भएको मन्नु तामाङ ज्यान मार्ने उद्योग र जहदामा नै भएको स्माईल साफीको ज्यान मार्ने उद्योग तथा अभद्र व्यवहारजस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न रहेको अभिलेखबाट देखिएको छ। प्रहरीले उनीहरूको साथबाट लुटिएको नगदमध्ये १ लाख ५० हजार र घटनामा प्रयोग भएको कालो रङको ट्राउजर र टिसर्टसमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनाविरुद्ध शरीर बन्धकसम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक डिएसपी हस्त बहादुर सुनारले जानकारी दिनुभयो ।