हाम्रो पेज
एजेन्सी, १८ अषाढ । अमेरिकी विदेश नीतिमा एकै दिन दुई महत्त्वपूर्ण र फरक घटनाक्रमहरू देखिएका छन्। राष्ट्रपति जो बाइडेनले इजरायल हमास द्वन्द्वमा ६० दिने युद्धविरामका लागि इजरायल सहमत भएको खुलासा गरेका छन् भने, अर्कोतर्फ अमेरिकाले युक्रेनलाई दिँदै आएको केही हतियारको आपूर्ति रोक्ने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा ६० दिने युद्धविरामका लागि आवश्यक सर्तहरूमा सहमति जनाएको दाबी गरेका छन्। यो घोषणाले महिनौंदेखिको रक्तपातपूर्ण द्वन्द्व अन्त्य हुने आशा जगाएको छ। हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गरिरहेका छौं, बाइडेनले आफ्नो एक वक्तव्यमा भने, कतार र इजिप्टले शान्ति स्थापनाका लागि कडा परिश्रम गरेका छन् र यो अन्तिम प्रस्ताव हो। मलाई आशा छ, हमासले यो सम्झौता स्वीकार गर्नेछ। यद्यपि, यो प्रस्तावमा रहेका सर्तहरू र यसको कार्यान्वयनमा ठूला चुनौतीहरू छन् । इजरायलले हमासलाई पूर्ण रूपमा नष्ट नगरेसम्म द्वन्द्व अन्त्य नहुने बताउँदै आएको छ। युद्धविराम अस्थायी भए पनि हमासको अन्त्य आफ्नो मुख्य लक्ष्य रहेको उसको भनाइ छ। हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता र बन्धकहरूको रिहाइका लागि स्पष्ट खाका मागिरहेको छ। हमासका एक वरिष्ठ अधिकारीले हालै मध्यस्थकर्ताहरूको प्रयासका बाबजुद इजरायलसँगको वार्ता अवरुद्ध रहेको बताएका थिए। राष्ट्रपति बाइडेनले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट्दैछन्। उनले नेतन्याहू पनि द्वन्द्व अन्त्य गर्न चाहेकोमा आफू विश्वस्त रहेको बताएका छन्। गत अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १,२०० इजरायली मारिएपछि सुरु भएको द्वन्द्वमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३६,००० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ।

अर्काेतर्फ रुससँग भीषण युद्ध लडिरहेको युक्रेनका लागि झट्का लाग्ने गरी अमेरिकाले केही हतियारको आपूर्ति रोकेको छ। ह्वाइट हाउसले यो निर्णय ूअमेरिकी राष्ट्रिय हितलाई सर्वोपरि राख्नू लिइएको बताएको छ। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई दिइने सैन्य सहयोगको समीक्षा गरेपछि यो कदम चालिएको हो। फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि अमेरिका युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगी रहँदै आएको छ र अर्बौं डलर बराबरको सहायता उपलब्ध गराएको छ। तर, बाइडेन प्रशासनभित्रै अमेरिकी हतियारको भण्डार रित्तिँदै गएकोमा चिन्ता बढिरहेको थियो। ह्वाइट हाउसका अनुसार कुन कुन हतियारको ढुवानी रोकिएको हो भन्नेबारे स्पष्ट पारिएको छैन, तर समाचार एजेन्सी रोयटर्सले यसमा हवाई रक्षा क्षेप्यास्त्र र उच्च प्रविधियुक्त सटीक हतियार समेत समावेश हुन सक्ने उल्लेख गरेको छ। एक अमेरिकी रक्षा अधिकारीले युक्रेनलाई सैन्य सहयोग जारी राख्न राष्ट्रपतिलाई अन्य बलियो विकल्पहरू प्रदान गरिने बताएका छन्। यद्यपि, यो निर्णयले युक्रेनको रक्षा क्षमता र युद्धको आगामी दिनमा कस्तो असर पार्छ भन्ने विषय चासो र चिन्ताको विषय बनेको छ। युक्रेनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।