हाम्रो पेज
एजेन्सी, २६ जेठ I भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। आईतबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ।
तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्। स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।
हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
भारतमा चार नयाँ भेरियन्टहरू फेला परेका छन्। आईसीएमआर निर्देशक डा. राजीव बहलले दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन्। बाँकी ठाउँहरूबाट नमूनाहरू सङ्कलन गरिँदैछ र नयाँ भेरियन्टहरू जाँच हुने क्रममा रहेको छ। यद्यपि डाक्टरहरु केसहरू धेरै गम्भीर नरहेको र मानिसहरूले चिन्ता गर्नु नपर्ने तर सावधानी अपनाउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन ले पनि तिनीहरूलाई चिन्ताको विषय मानेको छैन। यद्यपि, तिनीहरूलाई निगरानीमा रहेका भेरियन्टहरूको रूपमा वर्गीकृत गरिएको छ।
चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा यो भेरियन्ट देखिँदैछ। एनबी.१.८.१ को ए४३५एस, भी४४५एच र टी४७८आई जस्ता स्पाइक प्रोटिन उत्परिवर्तनहरू अन्य भेरियन्टहरू भन्दा छिटो फैलिन्छन्। तिनीहरू कोभिडविरुद्ध निर्मित प्रतिरोधात्मक क्षमताबाट पनि प्रभावित हुँदैनन्। कोभिडको जेएन.१ भेरियन्ट भारतमा सबैभन्दा सामान्य छ। यो भेरियन्ट परीक्षण गरिएका आधाभन्दा बढी नमूनाहरूमा पाइन्छ। योसँगै, बीए.२ (२६ प्रतिशत) र ओमिक्रोन सबलाइनेज (२० प्रतिशत) भेरियन्टका केसहरू पनि भेटिएका छन्। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन । विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ । त्यस्तै एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ। साथै, अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि यसले सहजै छल्न सक्छ । जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ । यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने, ‘लङ्ग कोभिड’ हुनसक्ने विज्ञहरूले बताएका छन् । यस अवस्थामा संक्रमित निको भइसकेपछि पनि केही लक्षणहरू लामो समयसम्म बाँकी रहन्छन् ।