हाम्रो पेज
विराटनगर, २६ जेठ I आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एक सनसनीपूर्ण र अविस्मरणीय खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग मात्र २ रनले पराजित भएको छ ।
ह्याट्रिक जितको खोजीमा रहेको नेपाल जितको निकै नजिक पुगेर पनि अन्तिम ओभरमा सम्हालिन नसक्दा स्तब्ध बन्यो । यद्यपि, विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सर्वाधिक ठूलो योगफलको कीर्तिमान भने बनाएको छ । डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक हुँदा क्रिजमा रहेका करण केसी र ललित राजवंशीले विकेट गुमाउन पुगे । अन्तिम बलमा ३ रन चाहिएको अवस्थामा ललित बोल्ड भएपछि नेपालले रोमाञ्चक खेल गुमाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ८५ बलमा ८ चौका प्रहार गरे । त्यस्तै, सोमपाल कामीले आक्रामक ब्याटिङ गर्दै ६७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ५६ रनको महत्वपूर्ण पारी खेले । आरिफ शेखले ३९ रन जोड्दा कुशल भुर्तेल र करण केसीले समान १७ रन बनाए । स्कटल्यान्डका लागि म्याकेन्जी जोन्सले ३ विकेट लिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले रिची बेरिङ्टनको उत्कृष्ट शतकको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको विशाल योगफल तयार पारेको थियो । बेरिङ्टनले ११४ बलमा १०२ रन बनाए भने म्याथ्यु क्रस ९६ रनमा अविजित रहे । उनीहरूले छैटौं विकेटका लागि १२५ रनको महत्वपूर्ण साझेदारी गरे । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई-दुई विकेट लिए ।
हारका बाबजुद कीर्तिमान
हारका बाबजुद नेपालले कीर्तिमान रच्न सफल भयो । नेपालले बनाएको तीनसय २१ रन एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले २०२३ मा कीर्तिपुरमा ओमानविरुद्ध ३१० रन बनाएको थियो । यदि नेपालले खेल जितेको भए, यो आफ्नो इतिहासकै सबैभन्दा ठूलो रन चेजको कीर्तिमान पनि बन्ने थियो । साथै, दुवै टोलीले बनाएको कुल ६४४ रन नेपाल सम्मिलित कुनै पनि एकदिवसीय खेलको सर्वाधिक समग्र स्कोर हो । यो नतिजासँगै स्कटल्यान्ड १९ खेलबाट २४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा यथावत छ । सन् २०२७ सम्म चल्ने लिग २ को शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन् । लिग २ पछि नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी २० शृंखला खेल्ने तालिका छ।