search logo
NOTIFICATIONS

आर्थिक बर्ष २०८२/०८३ को बजेट आज प्रस्तुत हुँदै

हाम्रो पेज

१५ जेष्ठ २०८२, बिहीबार १३:२०

काठमाडौं, १५ जेठ I आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सरकारले आज सार्वजनिक गर्दैछ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट पेश गर्ने कार्यक्रम छ।

राष्ट्रिय योजना आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट बनाउने गरी सीमा दिएकोमा यही हाराहारीमा बजेट ल्याउन लागिएको छ । चालू आर्थिक वर्षको बजेट शुरूमा १८ खर्ब ६० अर्ब रुपैयाँको ल्याइएकोमा आम्दानी र खर्चको लक्ष्य नभेटिने भएपछि अर्धवार्षिक समीक्षामार्फत घटाएर १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारिएको थियो ।

आउँदो बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्त्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने पनि उहाँले बताउनुभएको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने, आर्थिक सुधारलाई प्राथमिकता दिने र सामाजिक सुरक्षालाई सुदृढ गर्ने लक्ष्यसहित बजेट ल्याउने सरकारको तयारी छ । अर्थ मन्त्रालयका अनुसार सङ्घीय बजेटमा आयोजना बैङ्कमा नपरेका र तीन करोड रुपैयाँभन्दा कमका आयोजना पर्ने छैनन् ।