हाम्रो पेज

काठमाडौं, ९ भाद्र । प्रधानमन्त्री वालेन्द्र बालेन शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । यो पत्र पुगेसँगै अब प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद्मा उपस्थित हुनुहुने भएको छ । यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतकमार्फत सांसदलाई निर्देशन दिनु भएको थियो । यदि कसैले कालो चस्मा लगाउनैपर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने सभामुखको भनाइ थियो। सोही निर्देशन बमोजिम प्रधानमन्त्रीको मेडिकल रिपोर्ट सचिवालय पुगेको हो।
सचिवालयमा दर्ता भएको पत्र र स्वास्थ्य विवरणले संसद्मा उनको चस्मा लगाउने विषयलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीलाई समेत स्पष्ट रूपमा विराम लगाइदिएको छ।प्रधानमन्त्रीको निजी सचिवालयद्वारा संघीय संसद सचिवालयलाई पठाइएको उक्त पत्रमा उनको स्वास्थ्य अवस्था, उपचारको क्रम र चिकित्सकीय सुझावहरूको फेरिहस्त समेत संलग्न गरिएको छ। प्राप्त विवरण अनुसार, प्रधानमन्त्री शाहलाई पछिल्लो समय तीव्र उज्यालोमा हेर्न अत्यधिक असहज हुने तथा आँखाको प्राकृतिक ओसिलोपन कम भई सुक्खा भइरहने समस्या (ड्राई आई सिन्ड्रोम) देखिएको छ। यही स्वास्थ्य समस्याका कारण उनले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित केन्द्रीय सैनिक अस्पतालमा पुगी विशेष रूपमा आफ्नो आँखाको विस्तृत स्वास्थ्य परीक्षण गराउनु भएको थियो । नेपाली सेनाका विज्ञ चिकित्सक लेफ्टिनेट कर्णेल डा. सचित ढकालको टोलीले प्रधानमन्त्री शाहको आँखाको स्वास्थ्य परीक्षण गरेको थियो। चिकित्सकको उक्त परीक्षणबाट प्राप्त आधिकारिक रिपोर्टमा प्रधानमन्त्रीलाई अत्यधिक उज्यालो प्रकाशमा आँखा खुला राख्न वा हेर्न निकै कठिनाई हुने तथ्य औंल्याइएको छ। त्यसका साथै, आँखालाई सुरक्षित राख्न र सुक्खा हुनबाट बचाउनका लागि नियमित रूपमा चिकित्सकले सिफारिस गरेको विशेष आइड्रप दिनमा पटकपटक प्रयोग गर्नुपर्ने तथा उज्यालोको सीधा सम्पर्कबाट जोगिन कालो चस्मा वा विशेष लेन्सको प्रयोगलाई निरन्तरता दिनुपर्ने चिकित्सकीय सुझाव दिइएको थियो। यही चिकित्सकीय सल्लाह र स्वास्थ्यगत बाध्यतालाई आधार मान्दै प्रधानमन्त्रीले संसद् बैठकमा समेत कालो चस्मा लगाउनुपर्ने कारणसहितको स्पष्टीकरण पत्र सचिवालयमा पठाउनु भएको हो ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै छ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्ने तय भएको छ।