कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत, पक्षमा ५७ मत , विपक्षमा २२

हाम्रो पेज

८ भाद्र २०८३, सोमबार १८:४०

विराटनगर, ८ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । ​प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उहाँलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन् । ​त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ मध्ये २२ जना सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसालेका छन्। राप्रपाका सभामुखसहित ५ जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी जसपा की एकमात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहनु भयो । ९३ सदस्यीय प्रदेश सभामा एक जनाले राजीनामा दिएपछि कायम ९२ सदस्यमध्ये सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित रहेका थिए।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनु भएको हो । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको थियो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच साउन ९ गते भएको तीन बुँदे सहमतिसँगै प्रदेशमा नयाँ सत्ता समीकरण बनेको हो । मुख्यमन्त्री कार्कीले यसपटक गरी तीन पटक विश्वासको मत लिइसक्नु भएको छ । पहिलो पटक २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते उहाँले विश्वासको मत लिनु भएको थियो । त्यतिबेला उहाँले ५७ मत प्राप्त गर्नुभएको थियो । दोस्रो पटक एमाले र माओवादीको केन्द्रमा गठबन्धन फेरिए र एमाले कांग्रेसको गठबन्धन बनेपछि २०८१ असोज २ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । सो समयमा उहाँको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन् ।