विश्वकप छनोटको सुपर–६ मा नेपालले आज कतारसँग भिड्दै, यूएईविरुद्ध १ रनको रोमाञ्चक जित

हाम्रो पेज

२७ आश्विन २०८२, सोमबार ११:०७

विराटनगर, २७ आश्विन । ओमानमा जारी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे ओमानमा हुनेछ । नेपालले सुपर सिक्सको हिजो आइतबारको पहिलो खेलमा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो । कतार भने हिजो ओमानसँग ३४ रनले पराजित भएको थियो । नेपाल जारी प्रतियोगिताको अपराजित टोली हो । साथै, आज ओमान र युएई पनि प्रतिस्पर्धा गर्दै छन् । यो खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुँदै छ । सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी– २० विश्वकपका लागि छनोट हुनेछन् ।

सुपर सिक्समा नेपाल, यूएई, ओमान, कतार, सामोआ र जापानबीच प्रतिस्पर्धा जारी छ । हिजोको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ । नेपाल दुई खेलमा चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई दुई खेलमा दुई अंकसहित तेस्रो स्थानमा छ । सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । नेपाल र कतार यसअघि ३ पटक आमनेसामने भएका छन् । यसमध्ये २ खेल नेपालले र एक खेल कतारले जितेको छ ।