NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, २९ साउन । विराटनगरस्थित ऐतिहासिक शैक्षिक संस्था विराट क्याम्पसको सञ्चालक तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । हालै सम्पन्न क्याम्पस सञ्चालक समितिको बैठकले आरसी कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि पदाधिकारीहरूलाई जिम्मेवारी तोकेको हो । नव–पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा आरसी कोइराला, उपाध्यक्षमा रोशन घिमिरे, सचिवमा उमेश दाहाल र कोषाध्यक्षमा शिक्षा पौडेल चयन हुनु भएको छ । त्यसैगरी, समितिका सदस्यहरूमा कैलाश दाहाल, हेमराज गुरुङ्ग, अमित अग्रवाल, सरोज पौडेल र दृष्टि तिम्सिना रहनु भएको। छ। बैठकले शैक्षिक गुणस्तर वृद्धि, पूर्वाधार विकास, प्रविधिमैत्री कक्षा सञ्चालन, अनुसन्धान प्रवर्द्धन तथा विद्यार्थी हितका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ । नवनियुक्त अध्यक्ष कोइरालाले पुनर्गठित समितिले क्याम्पसलाई प्रदेशस्तरमै नमुना संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वि.सं. २०४८ सालमा स्थापना भएको विराट क्याम्पस, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक प्रतिष्ठित शैक्षिक संस्था हो । यसले स्थापनाकालदेखि नै पूर्वी नेपालको उच्च शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । हाल यस क्याम्पसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ तथा स्नातक तहमा व्यवस्थापन संकाय विविएस र एसिसिए कार्यक्रम सञ्चालनमा छन् । विसं २०७४ देखि विभिन्न शैक्षिक संस्था सञ्चालनको अनुभव भएका आरसी कोइरालाको नेतृत्वमा क्याम्पस सञ्चालन हुँदै आएको छ । यसअघि क्याम्पसको भौतिक पूर्वाधार मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो ।