हाम्रो पेज
विराटनगर, ६ अशोज । नेपालीहरुको महान चाड बडादशै आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैंको पहिलो दिन आज घटस्थापना गरिदैंछ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।
बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गर्ने प्रचलन छ । आजको दिन नदी वा चोखो स्थलबाट बालुवा तथा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ । यसलाई जमरा राख्ने भनिन्छ । जौको अंकुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज रोपण गरी देवी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ । यसपटकको टिका अशोज १६ गते परेको छ ।
आजकै दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । आज बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस्तै असोज १६ गते बिहीबार ११ बजेर ५३ मिनेटमा दशैंको टिकाको शुभ साईत रहेको समितिले जनाएको छ । पर्वको अन्तिम दिन असोज २० गते कोजाग्रत पूर्णिमासँगै दशैं सम्पन्न हुनेछ ।