search logo
NOTIFICATIONS

‘श्री ५’ सम्बोधन प्रकरणः पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठक पक्राउ

हाम्रो पेज

२७ असार २०८२, शुक्रबार १३:१२

काठमाडौं, २७ अषाढ । नेपालको गणतान्त्रिक व्यवस्था र संविधानलाई ठाडो चुनौती दिएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले पक्राउ गरेको छ। यो पक्राउलाई राज्यले संवैधानिक व्यवस्थाको प्रतिरक्षामा चालेको एक सांकेतिक तर कठोर कदमका रूपमा हेरिएको छ।शुक्रबार बिहान जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले पाठकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पाठकमाथि पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयका नामबाट जारी हुने सूचना तथा विज्ञप्तिहरूमा नेपालको संविधानले नचिन्ने श्री ५ महाराजधिराज जस्ता पदवी र संवाद सचिवालय जस्ता असंवैधानिक संरचनाको प्रयोग गरेको विषयमा सोधपुछ गरिरहेको छ।  जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुशार नेपालको संविधानले नचिन्ने पदवी र संरचनाको प्रयोग गरी लेटरप्याडमा सूचना जारी गर्ने गरिएको विषयमा सोधपुछ गर्न उहाँलाई नियन्त्रणमा लिइएको हो। यो पक्राउ एकाएक भएको घटना भने होइन। केही समययता पूर्वराजाको सचिवालयबाट जारी हुने विज्ञप्तिहरूमा राजतन्त्रात्मक शब्दावली प्रयोग भएको भन्दै संसदमा समेत गम्भीर आपत्ति जनाइएको थियो। सांसदहरूले यस्तो कार्यले संवैधानिक व्यवस्थाको उपहास गरेको भन्दै तत्काल कारबाहीको माग गरेका थिए। सोही सार्वजनिक दबाब र कानुनी दायित्वअनुसार प्रहरीले यो कदम चालेको बुझिएको छ।