search logo
NOTIFICATIONS

४९ जना सवार रुसी विमान घना जङ्गलमा जलिरहेको अवस्थामा फेला, सबै यात्रुको मृत्यु

हाम्रो पेज

८ श्रावण २०८२, बिहीबार १५:०१

एजेन्सी,८श्रावण । रुसको सुदूर पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा बिहीबार ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै संकेत फेला परेको छैन। अंगारा एयरलाइन्सद्वारा सञ्चालित दुईप्रोपेल्लर भएको एन्टोनोभ विमान ब्लागोभेशचेन्स्क सहरबाट टिन्डाका लागि उडेको थियो। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो राडारको सम्पर्कबाट बाहिर गएको थियो। पछि, एक उद्धार हेलिकप्टरले टिन्डाबाट करिब १६ किलोमिटर टाढा जङ्गलले ढाकिएको पहाडी भिरालोमा विमानको जलिरहेको मुख्य भाग फेला पारेको थियो। रुसी अन्वेषकहरूले सार्वजनिक गरेका भिडियोहरूमा घना जङ्गल क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। हेलिकप्टरबाट उद्धारमा संलग्न टोलीले कोही पनि जीवित रहेको प्रमाण नदेखेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन्। अमुर क्षेत्रको नागरिक रक्षा एजेन्सीले घटनास्थलमा स्थलमार्गबाट टोली पठाइएको र घना जङ्गलको भू भागका कारण घटनास्थल पुग्न कठिन भइरहेको जनाएको छ। क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार, विमानमा पाँच बालबालिकासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य गरी कुल ४९ जना सवार थिए। यद्यपि, रुसको सरकारी समाचार एजेन्सी टासले आपत्कालीन सेवालाई उद्धृत गर्दै विमानमा ४० यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएको छ। रुसको सुदूर पूर्वी यातायात अभियोजकको कार्यालयले विमान टिन्डा विमानस्थलमा दोस्रो पटक अवतरणको प्रयास गर्दा दुर्घटनाग्रस्त भएको बताएको छ। टिन्डा विमानस्थलमा अवतरण गर्ने क्रममा, विमान दोस्रो पटकको लागि घुमेको थियो, त्यसपछि सम्पर्क टुट्यो, कार्यालयले जनाएको छ। टास समाचार एजेन्सीका अनुसार, दुर्घटनाग्रस्त विमान करिब ५० वर्ष पुरानो थियो। सन् २०२१ मा यस विमानको उडान योग्यता प्रमाणपत्र सन् २०३६ सम्मका लागि नवीकरण गरिएको थियो। एन्टोनोभ २४ सोभियतकालमा डिजाइन गरिएको एक लोकप्रिय दुई प्रोपेल्लर विमान हो, जुन सन् १९५९ मा पहिलो पटक सेवामा आएको थियो।