हाम्रो पेज
विराटनगर, १७ जेठ। मनसुन भित्रिएसँगै देशभर बाढीले क्षति गर्ने जोखिम बढेको छ।
त्यसो त कोसी प्रदेशमा बाढीले सडक नै भत्काइसकेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागअन्तर्तगको बाढी पूर्वानुमान महाशाखाले बाढीको खतराबारे जानकारी दिन सुरु गरेको छ।
यसै क्रममा बाढी महाशाखाले शनिबार बिहान बाढीसम्बन्धी सतर्कता जारी गरेको छ। जसमा लेखिएको छ, ‘आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कमला, बागमती, पूर्वीराप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाईराखौँ। कन्काई नदीमा जलसतह सतर्कता तहनजिकै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ।’

बाढीले पूर्व–पश्चिम सडकखण्डमा निर्माणाधीन कल्भर्ट र डाइभर्सन बगायो
झापामा बिहानबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले पूर्व पश्चिम सडक खण्डामा समेत यातायात सञ्चालनमा समस्या भएको छ ।
झापाको विर्तामोडबाट पूर्व काँकडभिट्टा सम्म विभिन्न स्थानमा कल्भर्ट र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । प्रहरीका अनुसार पूर्व पश्चिम सडक खण्डमा निर्माणाधीन राजमार्गमा बनाइएका केही डाइभर्सन बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो । काँकडभिट्टाको काली खोलामा बाटो बगाउँदा पूर्णपुरमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनु भएको छ । वैकल्पिक मार्गबाट यातायात सुचारु गराउने प्रयास भइरहेको उहाँले बताउनु भयो ।यस्तै धुलाबारीनजिक कल्भर्ट बाढीले बगाएको छ । त्यस्तै बुट्टा वारी चारआली सडक खण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ ।
माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा
झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।
मनसुन सुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो । अध्यक्ष चाम्लागाईका अनुशार झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ । यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ ।
धनकुटाको लेउती खोलाले सडक बगाउदा कोशी राजमार्ग अवरुद्ध
लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्गको धनकुटामा पर्ने मुलघाट–सिम्सुवाखण्ड अवरूद्ध भएको छ ।
साँगुरीगढी गाउँ पालिका ६ स्थित फेदीमा २५ मिटर कालोपत्रे सडक बगाएको स्थानिय बलबहादुर राइले जानकारी दिनुभयो । सडक बगाएपछि धनकुटासहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोरकरिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउने यातायात र ढुवानी रोकिएको छ । बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा ५० मिटर कालोपत्रे सडक बगाएको र करिब ५० संरचना भत्काएको बताइएको छ । धनकुटाको फेदीमा बाढिले बगायो सडक, कोशी पहाडी जिल्लामा यातायात अवरूद्ध लेउती खोलाको बाढी नघटेकाले डाइभर्सनका लागि डोजर र स्काभेटर जस्ता उपकरण तत्काल खोलामा पठाउन नसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताउनु भयो । शनिबार बिहान अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको हो । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टंक थापाले जानकारी दिनुभयो । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा कोशी लोकमार्ग र तमोर कोरिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड र पाँचथर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।