search logo
NOTIFICATIONS

वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित,टेस्ट मान्यता प्राप्त टोलीमाथि नेपालको पहिलो जित

हाम्रो पेज

१२ आश्विन २०८२, आईतवार ११:३३

काठमाडौं, १२ आश्विन । नेपाली क्रिकेटले वेस्टइन्डिजमाथि ऐतिहासिक विजय हासिल गरेको छ, जुन कुनै पनि टेस्ट मान्यता प्राप्त टोलीमाथि नेपालको पहिलो जित हो। यो जित ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आएको हो, जहाँ नेपालले दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गर्‍यो। उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्दै नेपालले तीन खेलको सिरिजमा १- ० को अग्रता लिएको छ। लक्ष्य १४९ रनको थियो, तर वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो। वेस्टइन्डिजका लागि अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए। नेपाली बलर कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए, जबकि दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १(१ विकेट हात पारे। पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाएर १४८ रन बनाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन, कुशल मल्लले ३० रन र गुलशन झाले २२ रन बनाए। वेस्टइन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने नविन बिडैसीले ३ विकेट र कप्तान अकिल हुसेनले १ विकेट लिए। यसअघि ओपनरद्वय कुशल भूर्तेललाई ६ र आसिफ शेखलाई ३ रनमा गुमाए पनि टेस्ट मान्यता प्राप्त राष्ट्रसँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले राम्रो स्कोर बनाएको थियो । रोहितले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । मल्लले २१ बल खेली समान २ चौका र छक्का प्रहार गरी ३० रन बनाए । गुलशन झाले पनि २ छक्का प्रहार गर्दै १६ बलमा २२ रन बनाए । दीपेन्द्रले १९ बलमा १७ रन बनाउने क्रममा १ छक्का प्रहार गरे । सन्दीप जोरा ९ रनमै आउट भए । करण पहिलो बलमै आउट भए । सोमपाल ५ बलमा ६ र नन्दन २ बल खेली ७ रनमा अविजित रहे । वेस्टइन्डिजबाट होल्डरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २० रनमात्र खर्चेका थिए । बिदाइसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ओपनिङ बल लिएर आएका कप्तान एवं देव्रे हाते स्पिनर अकेल हुसैनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए र उनले यो अवार्ड जेन जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई समर्पण गरे। उनले टोलीको प्रदर्शनको प्रशंसा गर्दै यो जितलाई आगामी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि ठूलो हौसला मिलेको बताए । यसअघि नेपालले अफगानिस्तानलाई २०१४ को टी २० विश्वकपमा हराएको भए पनि, त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र थिएन। नेपालले हालसम्म पूर्ण सदस्य राष्ट्रहरूसँग खेलेका आठै टी २० अन्तर्राष्ट्रिय खेलहरू हारेको थियो।