search logo
NOTIFICATIONS

प्रेस स्वतन्त्रतामाथिको प्रहारप्रति प्रेस चौतारीको आपत्ति

हाम्रो पेज

२८ जेष्ठ २०८२, बुधबार १७:३८
काठमाडौं, २८ जेठ । प्रेस चौतारी नेपालले विजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतबाट जारी भएको आदेश र सोही समाचारका कारण पत्रकार दिलभूषण पाठकमाथि प्रहरीले जारी गरेको पक्राउ पुर्जीको घटनाप्रति आपत्ति जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। यस्ता कदमले प्रेस स्वतन्त्रताको मर्ममाथि आँच पुर्‍याउँछ।”

विज्ञप्तिमा संविधानअनुसार प्रकाशित वा प्रसारित सामग्रीमाथि उत्पन्न असन्तुष्टिको प्रारम्भिक मूल्यांकन प्रेस काउन्सिल नेपालको जिम्मेवारी भएको स्मरण गराउँदै अदालतले जारी गरेको प्रारम्भिक आदेशको पुनरावलोकन गरी संविधान र विधिको मर्मअनुरूप सुधार हुने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, साइबर ब्युरोद्वारा पत्रकार पाठकमाथि जारी गरिएको पक्राउ पुर्जी तत्काल खारेज गर्न प्रेस चौतारीले माग गरेको छ। प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत अधिकार र प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको चौतारीले स्पष्ट पारेको छ।

प्रेस चौतारीले सम्पूर्ण सञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

प्रेस चौतारी नेपालको प्रेस बिज्ञप्ति