हाम्रो पेज

विराटनगर, ८ श्रावण । मनसुनी वर्षाका कारण आएको बाढी तथा पहिरोले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा सडक सञ्जाल नराम्ररी प्रभावित भएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले आज बिहीबार एक सूचना जारी गर्दै पाँचथर, इलाम र ताप्लेजुङका विभिन्न ६ स्थानमा सडक अवरुद्ध भएको जनाएको छ। प्रहरीले बाढीपहिरोको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे अनिवार्य रूपमा जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पाँचथर जिल्लामा चारवटा मुख्य सडकखण्डमा यातायात अवरुद्ध भएको छ।मेची लोकमार्गमा फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ स्थित हेवाखोलामा बनाइएको डाइभर्सन बगाउँदा सडक साउन ४ गतेदेखि अवरुद्ध छ। मानिसहरू झोलुङ्गेपुलबाट आवतजावत गरिरहेका छन्। फिदिमफालोट सडकमा फालेलुङ गाउँपालिका ४ को मुवाखोलामा राखिएको ह्युम पाइप बगाएपछि यो सडक पनि साउन ४ गतेदेखि नै बन्द छ। यहाँ पनि सर्वसाधारणले झोलुङ्गेपुलको प्रयोग गरिरहेका छन्। यस्तै आरुबोटेथामथुम रवि सडकमा मिक्लाजुङ गाउँपालिका३ थामथुममा पहिरो खसेका कारण साउन ४ गतेदेखि सडक अवरुद्ध छ, तर मानिसहरू पैदल आवतजावत भने गरिरहेका छन्।

रानिटार पौवासार्ताप सडक खण्डमा फिदिम नगरपालिका८ तमरखेमा पहिरो जाँदा सडक बन्द भए पनि वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। यता इलामको फाकफोकथुम गाउँपालिका १ पञ्चेवामा पहिरो खसेर आमचोक धुरमिसे पञ्चमी इलाम सडक अवरुद्ध भएको छ। यद्यपि, उक्त सडकका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। सबैभन्दा गम्भीर अवस्था ताप्लेजुङमा देखिएको छ। फक्ताङलुङ गाउँपालिका ६ रानीपुलस्थित तमोर नदीको बेली ब्रिज बाढीले बगाएपछि ताप्लेजुङ ओलाङचुङगोला सडक साउन ६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडकको कुनै पनि वैकल्पिक मार्ग नरहेको र उत्तरी सीमावर्ती क्षेत्र ओलाङचुङगोलासँगको स्थलमार्ग सम्पर्क टुटेको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयले वर्षायाममा बाढी र पहिरोको जोखिम निरन्तर रहने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको अवस्थाबारे पूर्ण जानकारी लिएर मात्र यात्रा थाल्न अनुरोध गरेको छ। सडक अवस्थाबारे थप जानकारीका लागि नेपाल प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३, मा सम्पर्क गर्न सकिनेछ।
