
काठमाडौं, १० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इतिहासमा असान्दर्भिक भइसकेको शक्तिले अहिलेको व्यवस्था र एमाले माथि प्रहार गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको दाेस्राे पूर्ण बैठकलाई आज सम्बोधन गर्दै सान्दर्भिक भइसकेका राजावादीहरूले एमाले माथि आक्रमण गर्नुको अर्थ एमाले ठिक ठाउँमा भएको उहाँले दाबी गर्नुभयो । यो कुरा नयाँ पुस्तालाई बुझाउनु पर्ने र त्यो काम राष्ट्रिय युवा संघ नेपालले गर्ने सक्ने उहाँको धारणा छ । यसले परिवर्तनको अभियानमा युवालाई जोड्न सकिने पोखरेलले बताउनुभयो ।
एमालेलाई सक्न आफूलाई कम्युनिष्ट भन्ने माओवादी, समाजवादी लगायत पनि लागेका पोखरेलले बताउनुभयो ।
नेकपा एमाले र नेपाली कांग्रेस मिलेपछि साना दलको राष्ट्रिय औचित्य र भूमिका कमजोर भएकाले छटपटिएका उहाँले बताउनुभयो । भविष्य अन्धकार भएकाहरूले आफ्नो भविष्य खोजीका लागि एमाले माथि आक्रमणमा उत्रिएका उहाँले स्पष्ट पार्नुभयो ।एमालेको सामना गर्न नसकेपछि अहिले माओवादी समाजवादीले एमाले माथि सामाजिक सञ्जाल मार्फत हमलाको रणनीति लिएका उहाँले बताउनुभयो । यसलाई बुझेर एमाले अघि बढ्नु पर्ने पोखरेलको धारणा छ ।

वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउन खोज्नेहरू पनि एमाले र एमाले नेतृत्व विरुद्ध केन्द्रित रहेका उहाँले बताउनुभयो । राजनीति सिद्धान्त, संगठन प्रणाली र भविष्यको दृष्टिकोणमा आधारित हुने उहाँले बताउनुभयो ।
नेपालमा कठपुतली बनाउन खोज्ने बाह्य शक्तिले पनि एमाले र त्यसको नेतृत्व विरुद्ध आक्रमण गरिरहेका उहाँले बताउनुभयो । ‘उनीहरूलाई पीडा छ, नेपाललाई बफर जोन बनाउन नपाएकोमा’, उहाँले भन्नुभयो ।
अहिले कांग्रेस एमालेको सरकार चलिरहेको भए पनि देशको खराब अर्थतन्त्रको कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । तहसनहस भएको मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेकोले अब देश विकासले गति लिने पोखरेलले दाबी गर्नुभयो ।

पोखरेलले मुलुकमा भएका खराब काममा एमालेको सहभागिता नदेखिने दाबी गर्नुभयो । तर एमाले माथि नै आरोप र हमला हुने गरेको उहाँले बताउनुभयो ।
पोखरेलले पार्टीमा संगठनात्मक अराजकता र अवसरवाद मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यी दुईवटा प्रवृत्तिलाई पराजित नगर्दासम्म पार्टी सुदृढ नहुने पोखरेलले बताउनुभयो । ‘अवसरवादबाट हामीले आफूलाई मुक्त गर्न सक्नु पर्दछ’, पोखरेलले भन्नुभयो ।
देश बाहिर जाने कुरा बाध्यता मात्र नभएर कतिपयको रहर पनि भएको बताउँदै पोखरेलले परम्परागत कृषिलाई व्यावसायिक बनाउन नसक्दा पनि विदेश पलायन बढेको बताउनुभयो ।