हाम्रो पेज
संगठनले दिएको जिम्मेवारी अन्तर्गत आतंकवाद गतिविधि, विभिन्न सशस्त्र संघर्ष एवम् पृथकतावादी गतिविधि नियन्त्रणकालागि जनशक्ति तयार गर्ने उद्देश्यले लामो समयदेखि सञ्चालन हुँदै आएको तालिम बुधवार समापन गरिएको हो ।
तालिम समापन समारोहमा बोल्दै सशस्त्र प्रहरी बल नेपालको मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले राष्ट्रिय हित विपरितका आतंकवाद, व्यक्ति अपहरण, आपराधिक तथा हिंसात्मक गतिविधि एवम् विपद्को अवस्थामा चुनौती सामना गर्न सक्ने जनशक्ति तयार गर्न यो तालिम प्रदान गरिएको बताउनुभयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद व्यवस्थापन लगायत विशेष परिस्थितीमा सशस्त्र प्रहरीको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आतंकवादविरुद्धको कारवाहीमा परिचालन हुन दक्ष एवम् सक्रिय सुरक्षा शक्ति तयार भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले भैपरी आउन सक्ने विषम सुरक्षा चुनौती सामना गर्न विशेष दक्षतायुक्त जनशक्ति तयार गर्न यो तालिम सञ्चालन गरेको बताउनुभयो । दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा आयोजना गरिएको तालिम आतंकवादी गतिविधि, विभिन्न सशस्त्र गतिविधि र पृथकतावादी गतिविधि नियन्त्रण गर्न उपयोगी बनेको समादेशक कार्कीको विश्वास छ ।