
काठमाडौं, ८ मंसिर । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ । प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ । साथै सुशीला कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी फ्रन्टले पनि आपत्ति जनाएको छ । फ्रन्टले प्रधानमन्त्री समक्ष प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गरी उनले दिलाएका नियुक्ति खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेको छ । ‘सुशासन र जवाफदेहीताको नाराको बलमा बनेको सरकारमा पुनस् नातावाद र कृपावादमा आधारित नियुक्ति कसरी सम्भव भयो रु’ जेनजी फ्रन्टले भनेको छ । उसले यस सम्बन्धमा प्रधानमन्त्री कार्यालयका तर्फबाट तत्काल स्पष्टीकरणसहित सत्यतथ्य जानकारी माग गरेको छ । श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिनु भएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव र नातेदार कमला श्रेष्ठलाई स्वकीय सहसचिवमा नियुक्त दिलाउनु भएको छ ।

