इलाममा दाजु भाइमाथि छुरा प्रहार, दाजुको मृत्यु, भाइ घाइते

हाम्रो पेज

१ श्रावण २०८२, बिहीबार ११:१२

विराटनगर, १ श्रावण । इलामको सूर्योदय नगरपालिका–१, भालुखोकमा गएराति एक युवकको छुरा प्रहार गरी विभत्स हत्या भएको छ। घटनामा सूर्योदय–२ निवासी २२ वर्षीय निरोज चापागाईंको मृत्यु भएको हो भने उनका भाइ प्रकाश चापागाईं घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डीएसपी मानबहादुर राईका अनुसार, चापागाईं दाजुभाइमाथि सोही नगरपालिकाको वडा नं १ का ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार छुरा प्रहार गरेका थिए। प्रारम्भिक जानकारीअनुसार, घटना मृतक निरोजको ससुराली घर नजिकै भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका निरोजको घटनास्थलमै मृत्यु भएको थियो। उनका भाइ प्रकाशलाई तत्काल उपचारका लागि झापाको विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ। प्रहरीका अनुसार प्रकाशको स्वास्थ्य अवस्था सामान्य छ। घटनामा आक्रमणकारी शेर्पा पनि घाइते भएका छन्। उनको इलामस्थित एक स्वास्थ्य संस्थामा प्रहरीको निगरानीमा उपचार भइरहेको डीएसपी राईले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार, फरक वडाका भए पनि शेर्पा र चापागाईं परिवारबीच पहिलेदेखि नै चिनजान थियो। तर, यो दुःखद घटनाको पछाडिको मुख्य कारण भने अझै खुल्न सकेको छैन। डीएसपी राईले भन्नुभयो, विवाद के कारणले भयो भन्ने विषयमा अनुसन्धान सुरु भइसकेको छ। हामीले घटनाको सबै पक्षबाट सुक्ष्म अनुसन्धान गरिरहेका छौं। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।