रास्वपालाई दुई तिहाईका लागि २ सिट नपुग्ने, बालेनले लिनु पर्दैन विश्वासको मत

हाम्रो पेज

२७ फाल्गुन २०८२, बुधबार १७:५१
 एआईबाट तयार पारिएको तस्विर
काठमाडौं,२७ फाल्गुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । बुधबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत केही क्षेत्रको मतगणना सम्पन्न भएसँगै दुवैतर्फको मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकिएको थियो । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, श्रम संस्कृति ३, राप्रपा र स्वतन्त्र एक उम्मेदवार निर्वाचित भएका थिए । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्यमा जुटेको छ । बुधबार दिउँसोसम्म आयोगले समानुपातिकतर्फ एक करोड ७ लाख ८५ हजार ८७६ मत गणना गरिसकेको जनाएको छ । गणनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ५१ लाख ५७ हजार १३० मतसहित अग्रता बनाएको छ । दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२, नेकपा ९एमाले० ले १४ लाख ५२ हजार ७५८ मत पाएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत पाएको छ । २०७९ को निर्वाचनमा ठुला बनेका नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल यो निर्वाचनमा दुवै निर्वाचन प्रणालीमा खुम्चिएका छन् । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ ल्याएको नेकपा एमालेको यो पटकको मत झन्डै आधाले घटेको छ । यो पटक एमालेले समानुपातिकमा १४ लाख ५२ हजार ७५८ मत मात्र पाएको छ । अघिल्लो चुनावमा ल्याएको मतको तुलनामा एमालेको यो पटकको समानुपातिक मत १३ लाख ९२ हजार ८८३ मतले घटेको छ । त्यस्तै, नेपाली कांग्रेसको समानुपातिक मत पनि अघिल्लो चुनावको तुलनामा घटेको छ । कांग्रेसले यो पटक १७ लाख ५४ हजार ६९५ मत पाएको छ । उसले २०७९ को निर्वाचनमा २७ लाख १५ हजार २२५ मत पाएको थियो । अघिल्लो र यो चुनावमा कांग्रेसको समानुपातिक मतान्तर ९ लाख ६० हजार ५३० कम छ । समानुपातिकतर्फ दलहरूले पाएको मतको आधारमा उनीहरूका सांसद थपिनेछन् । जसअन्तर्गत रास्वपाका समानुपातिक सांसद ५७, नेपाली कांग्रेसका २०,एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९, श्रम संस्कृति पार्टीका ४,राप्रपा ४, सांसद थपिने छन् । प्रत्यक्ष र समानुपातिक दुवै गरेर कुल सांसद २७५ मध्ये रास्वपाका १८२, कांग्रेसका ३८,एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपा ५ र स्वतन्त्र १ सांसद संसदमा रहनेछन् । स्मरणरहोस्, अघिल्लो निर्वाचनमा रास्वपाका २१ सांसद थिए । यो निर्वाचनमा जनमत, जसपा, लोसपा,नाउपा, नेमकिपा, जनमोर्चा राष्ट्रिय पार्टीको हैसियत बनाउन नसक्दा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उदाउन पुगेको छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । अहिले १८२ सिट पाएको रास्वपालाई दुई तिहाइ पुग्न २ सिट अपुग हुने देखिन्छ । निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी कूल १८२ सिट जित्दै रास्वपा सबैभन्दा ठूलो दल बनेको छ।

अब रास्वपाले बालेनसँग भएको पूर्ववत समझदारीअनुसार उनलाई संसदीय दलको नेता बनाउनुपर्ने हुन्छ। निर्वाचन परिणाम घोषणा भएपछि सांसदहरूको बैठक बसेर दलको नेता चुन्नुपर्ने हुन्छ। संसदीय दलको नेता बनेपछि बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नहुनेछ । बालेन संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री बन्नुहुने छ । उक्त उपधारामा ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ। बालेनले प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा विश्वासको मत लिइराख्नु पर्दैन। किनभने उहाँ संसदमा बहुमत प्राप्त दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्नेछन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न १३८ सिट जित्नुपर्छ तर रास्वपा एक्लैले चुनावमा १८२ सिट जितेको छ। संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराले बहुमत प्राप्त दलको नेतालाई विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। तर प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेलामा विश्वासको मत भने लिन पाउनेछन् ।