search logo
NOTIFICATIONS

कोरियामा रोजगारीको अवसर, ५,३०० नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्यो

हाम्रो पेज

१९ श्रावण २०८२, सोमबार १६:४७

काठमाडौँ १९ श्रावण । दक्षिण कोरियामा रोजगारीका लागि प्रतीक्षारत हजारौं नेपाली युवाका लागि खुसीको खबर छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत ५,३०० जनाका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरेको छ। शाखाका अनुसार, यो पहिलो चरणको परीक्षा उत्पादनमूलक तथा कृषि एवं पशुपालन क्षेत्रका लागि हुनेछ। उत्पादनमूलक क्षेत्रका लागि ३,५०० र कृषि तथा पशुपालन क्षेत्रका लागि १,८०० गरी कुल ५,३०० कोटा निर्धारण गरिएको छ। इच्छुक आवेदकले यी दुईमध्ये कुनै एक क्षेत्रमा मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि नेपाली नागरिक १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा अवैध रूपमा बसोबास नगरेको र नेपाल सरकारले विदेश जान रोक नलगाएको व्यक्ति हुनुपर्ने योग्यता तोकिएको छ। यो परीक्षा पहिलो चरणको हो। भाषा परीक्षामा उत्तीर्ण हुनेहरूले मात्र दोस्रो चरणको सीप परीक्षण र योग्यता परीक्षण ९ मा भाग लिन पाउनेछन्। यी दुवै चरण पार गरेपछि मात्र रोजगारका लागि अन्तिम आवेदन दिन योग्य मानिनेछ। भाषा परीक्षाका लागि आवेदन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ भने परीक्षा काठमाडौँमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ। ईपीएस प्रणाली नेपाली युवाहरूका लागि आकर्षक र सुरक्षित वैदेशिक गन्तव्य मानिन्छ ।