search logo
NOTIFICATIONS

मैदानभित्र र बाहिर नयाँ रणनीतिका साथ विराटनगर किंग्सः भी चित्रसँग मार्केटिङ साझेदारी

हाम्रो पेज

२ श्रावण २०८२, शुक्रबार १४:२४

विराटनगर,२ श्रावण । नेपाल प्रिमियर लिगको चर्चित टोली विराटनगर किंग्सले आगामी सिजनका लागि मैदानभित्र र बाहिर दुवैतर्फ बलियो तयारी थालेको छ। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने यो क्रिकेट फ्रान्चाइजले आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा प्रतिष्ठित कम्पनी भी चित्र लाई नियुक्त गरेको छ भने, अर्कोतर्फ स्टार खेलाडी सन्दीप लामिछानेसहित ६ महत्वपूर्ण खेलाडीलाई टोलीमा रिटेन कायम गरेको छ। विराटनगर किंग्सले आफ्नो ब्रान्डको उपस्थिति र व्यावसायिक पहुँचलाई अझ बलियो बनाउन भी चित्रसँग रणनीतिक साझेदारी गरेको हो। यो सहकार्यले टिमको बजारीकरण, प्रायोजन व्यवस्थापन र समर्थकहरूसँगको सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने विश्वास दुवै पक्षले लिएका छन्। साझेदारीबारे उत्साहित हुँदै विराटनगर किंग्सका टिम मालिक वेङ्कटेस मुन्द्राले भन्नुभयो, हामी भी चित्रसँगको यो उत्साहजनक सहकार्यप्रति निकै आशावादी छौँ। उहाँहरूको विशेषज्ञताले हाम्रो ब्रान्डलाई थप बलियो बनाउने र समर्थकहरूसम्म पुग्न मद्दत गर्नेछ भन्नेमा हामी विश्वस्त छौं। यस्तै, भी चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले विराटनगर किंग्सजस्तो प्रतिष्ठित टिमसँग जोडिन पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, विराटनगर किंग्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाएर हामी गौरवान्वित छौँ। हामी टिमको भिजनलाई साकार पार्न र यसलाई एउटा सफल ब्रान्डको रूपमा स्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।

मैदान बाहिरको यो रणनीतिक कदमसँगै, विराटनगर किंग्सले मैदानभित्र पनि आफ्नो योजना स्पष्ट पारेको छ। आफ्नो रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गर्दै टिमले आगामी सिजनका लागि आफ्नो रणनीति तय गरिरहेको छ । मार्की खेलाडीमा राष्ट्रिय टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने लाई निरन्तरता दिइएको छ। यस्तै रिटेन गरिएका अन्य खेलाडीहरूमा प्रतिश जिसी, राष्ट्रिय टोलीका प्रतिभाशाली युवा फास्ट बलर, लोकेश बम विस्फोटक ब्याटिङका लागि परिचित, बसिर अहमद एक भरपर्दा अलराउन्डर, नरेन भट्ट यू१९ नेपाली राष्ट्रिय टोलीका कप्तान र सुवास भण्डारी एक उदीयमान युवा स्पिनर रहेका छन् ।