जाँचबुझ आयोगको म्याद २० दिन थपियो, सरकार प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई

हाम्रो पेज

८ माघ २०८२, बिहीबार १७:११

काठमाडौं,८ माघ । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । यो आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको थियो ।यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो । राजीनामा दिएका खरेल ललितपुर २ बाट रास्वपाको उम्मेदवार बन्नु भएको छ । यस्तै सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री अर्यालले जानकारी दिनुभयो ।