search logo
NOTIFICATIONS

समानुपातिकतर्फ ८३ लाख मत गनेर सकिँदा रास्वपाले ४० लाख कटायो, अरु दलको कति ?

हाम्रो पेज

२५ फाल्गुन २०८२, सोमबार १२:३७

काठमाडौं, २५ फाल्गुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ।
सोमबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ ८४ लाख २० हजार ९०४ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जित निकालेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ४० लाख भन्दा धेरै मत प्राप्त गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाले ४० लाख ६९ हजार २५१ मत प्राप्त गरेको छ। त्यसैगरि प्रत्यक्षमा १७ सिटमा जित निकालेको नेपाली कांग्रेसले १३ लाख ६६ हजार मत पाएको छ। प्रत्यक्षमा अहिलेसम्म ८ सिट मात्रै जितेको एमालेले समानुपातिकतर्फ ११ लाख ५५ हजार २८ मत प्राप्त गरेको छ। ०७९ को निर्वाचनमा एमालेले समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्दा रास्वपा चौथो भएको थियो। अहिलेसम्म नेकपाले समानुपातिकतर्फ ५ लाख ९५ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। त्यसैगरि हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले अहिलेसम्म २ लाख ९४ हजार १८ मत पाएको छ भने राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म २ लाख ७७ हजार ८६१ मत मत पाएको छ। मधेसवादी कुनै पनि दलले यसपटको निर्वाचनमा समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्था देखिएको छैन। जसपाले अहिलेसम्म १ लाख २४ हजार २०७ मत मात्रै पाएको छ। त्यसैगरि राष्ट्रिय परिवर्तन पार्टीले पनि १ लाख १८ हजार १६५ मत पाएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ १ करोड ९ लाख मत खसेको थियो । समानुपातिक तर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनुपर्छ । समानुपातिक तर्फ सिट पाउन कूल सदर मतको ३ प्रतिशत मत कटाउनुपर्ने संवैधानिक व्यवस्थालाई नै थ्रेसहोल्ड भनिन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । १६५ जना भने प्रत्यक्ष निर्वाचित हुन्छन् । प्रत्यक्षतर्फको मतगण्ना करिब सकिएको छ । समानुपातिक तर्फको मत गणना यही फागुन २७ गते बिहानसम्म सक्ने निर्वाचन आयोगको लक्ष्य छ ।समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ । निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य हुनेछ । आगामी चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।