कोशी प्रदेशका मुख्यमन्त्री कार्की र राष्ट्रसंघीय खाद्य संगठनका नेपाल प्रतिनिधिबीच भेटवार्ता

हाम्रो पेज

३० असार २०८२, सोमबार १२:३६

विराटनगर ३० अषाढ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भेटघाटमा मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपद जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिनुभएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोशी प्रदेश सरकार जलबायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएकाले जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेको छ त्यसैले पनि यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो। मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । सो अवसरमा सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो। उहाँले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिनुभयो ‌। प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो। संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको छ।