search logo
NOTIFICATIONS

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईको आक्रोश, मैले शुरु गरेको पुलको जस एमालेले लियो

हाम्रो पेज

२० असार २०८२, शुक्रबार १३:४२
भोजपुरको छिन्ताङमा पुल बन्यो, जस लिनेको होड

तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई

विराटनगर, २० अषाढ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईले नेकपा एमालेले विकास निर्माणका काममा झुटो जस लिने गरेको भन्दै कडा आक्रोश व्यक्त गर्नुभएको छ ।

आफ्नो कार्यकालमा सुरु भएको भोजपुरको छिन्ताङ पुल निर्माण सम्पन्न भएपछि एमालेका नेता कार्यकर्ताले अर्कैले योजना सुरु गरेको भनेर भ्रम छरेको भन्दै उहाँले एमालेलाई लाज हुनै छाडेछ, भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोख्नु भएको हो । पूर्वमुख्यमन्त्री राईले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने छिन्ताङ पुलको योजना र बजेट आफूले नै सुनिश्चित गरेको दाबी गगर्नुभएको छ । उहाँले लेख्नु भएको छ, म मुख्यमन्त्री भएको बेला आर्थिक वर्ष २०७९/०८० को रातो किताबमा योजना र बजेट राखेर र हतार गरेर डीपीआर तयार गर्न लगाई स्रोत सुनिश्चितताको निर्णय गराएर ठेक्का खोल्न लगाएर काम अगाडि बढाएको यो छिन्ताङ पुलको योजना अहिले सकिएको छ। उहाँले निर्वाचन आचारसंहिता लाग्ने डर र चुनावपछिको नयाँ सरकारले योजना कार्यान्वयन नगर्ला कि भन्ने भयले हतारमा काम अघि बढाएको समेत स्पष्ट पार्नुभएको छ। तर, अहिले पुल बनेपछि एमालेका मित्रहरूले भिडियो हालेर संस्थापक नेताले पहिलो पटक रातो किताबमा बजेट हालेको भन्दै अर्कै व्यक्तिले योजना सुरु गरेको जसरी भ्रम फैलाउन खोजेको देख्दा आफू आश्चर्यचकित भएको उहाँको भनाइ छ।

आफ्नो स्टाटसमा उहाँले आफ्नो कार्यकालमा निर्वाचन क्षेत्रका लागि तीनवटा पक्की पुल थुम्लुङ खोला, दोभाने स्यामखोला, किमालुङ र चिर्खुवा खोला, छिन्ताङ को योजना रातो किताबमा समावेश गरेको उल्लेख गर्नुभएको छ। जसमध्ये किमालुङ र छिन्ताङको पुल निर्माण सम्पन्न भइसकेको छ। उहाँले थप लेख्नुभएको छ, थुम्लुङ, दोभानेको त्यतिबेला भ्याइएन, डीपीआर सकेर स्रोत सुनिश्चितताको लागि अर्थमन्त्रालयमा पुर्‍याउन भ्याइयो, तर निर्वाचन आचारसंहिताको कारण देखाएर स्रोत सुनिश्चितताको निर्णय भएन। म पछिको सरकारले काम अगाडि बढाएन र अहिलेसम्म दोभानेको पुल ठेक्का खुलेको छैन। लामो प्रयासपछि हालै मात्र त्यस पुलको पनि स्रोत सुनिश्चितता भएकाले अब ठेक्का खुल्ने जानकारी उहाँले दिनु भएको छ । आफ्नो मुख्य असन्तुष्टि जस लिने प्रवृत्तिप्रति रहेको बताउँदै उहाँले लेख्नु भएको छ, मलाई धन्यवाद दिनु नदिनु यहाँहरु र जनताको आफ्नो इच्छाको कुरा हो तर एउटाले गरेको कामलाई अर्कोले गरेको भन्ने र अर्कैलाई धन्यवाद दिन चाहिँ किन नलजाको भन्ने भनाइ मेरो हो। पूर्वमुख्यमन्त्री राईको यो स्टाटसले नेपालको राजनीतिमा व्याप्त ‘जस लिने होडबाजी’ को संस्कृतिलाई फेरि एकपटक सतहमा ल्याएको छ।