हाम्रो पेज
काठमाडौं ९ श्रावण । नेकपा एमाले केन्द्रीय कमिटीले आफ्नो पार्टी सदस्यता नवीकरणमा रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त निर्णयलाई अवैध र अपरिपक्व भन्दै सशक्त राजनीतिक प्रतिवाद गर्नुभएको छ। शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले आफू कुनै पदको लालसाले नभई पार्टीलाई सफल, सुदृढ र एकताबद्ध बनाउने संकल्पका साथ राजनीतिमा फर्किन खोजेको स्पष्ट पार्नुभयो। आफ्नो राजनीतिक यात्राको लामो इतिहास र पार्टीप्रतिको निष्ठामाथि प्रश्न उठाइएकोमा गहिरो दुःख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, मलाई जननेता मदन भण्डारीले पार्टी सदस्यता दिनुभएको हो। अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खोस्न सकिन्छ जस्तो लाग्दैन। उहाँले आफूले पार्टीको सदस्यता लिएको ४५ वर्ष भइसकेको र राष्ट्रपति हुँदासम्म ३५ वर्ष पार्टी सदस्यको हैसियतमा काम गरिसकेको स्मरण गराउनुभयो। ूयो घाम जस्तै छर्लंग कुरा हो। पार्टी सिद्धान्तप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन, उहाँले भन्नुभयो। उहाँले आफूलाई रोक्ने गरी गरिएको निर्णयले पार्टीकै प्रतिष्ठा र साख गिराउने चेतावनी दिनुभयो। आवेग र उत्तेजनामा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा प्रभावित पारे पनि वास्तविकतालाई छोप्न सक्दैन, उहाँले भन्नुभयो, पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुने गरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन। पूर्वराष्ट्रपति भण्डारीले आफू पदको लोभले राजनीतिमा नफर्किएको बताउनुभयो। म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकी छु। मलाई पदको लालसा छैन, उहाँले भन्नुभयो, मैले पार्टी त्यागेर राष्ट्रपति पदमा गएको होइन, पार्टीकै जिम्मेवारी लिएर गएको हुँ। जिम्मेवारी पूरा गरेर फर्किएपछि विधिअनुसार नै पार्टीमा पुनः आबद्ध हुन खोजेकी हुँ। उहाँले यो पार्टी निर्माणमा आफूजस्तै हजारौँ योद्धाहरूको रगत र पसिना बगेको बताउँदै आफूले यी सबै कुरा भावनामा बगेर नभई यथार्थमा आधारित भएर बोलेको स्पष्ट पार्नुभयो। सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाउनु भएको थियो ।