
काठमाडौं, १३ कार्तिक । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पर्न थालेको छ। बुधबार रातिदेखि नै यसको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यो चक्रवातले भित्र्याउन सक्ने प्रणालीका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। सरकारी आधिकारिक निकायहरूले नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै आएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउन र दश जिल्लामा निरन्तर मौसमबारे जानकारी लिएर बस्न आग्रह गरेको छ। प्राधिकरणले आज बिहानदेखि भोलि बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको बताएको छ। कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
सर्तक रहनुपर्ने प्रदेश र जिल्लाहरू
कोशी प्रदेशः ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगा।
मधेस प्रदेशः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही।
बागमती प्रदेशः मकवानपुर, चितवन, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवा।
गण्डकी प्रदेशः गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, मनाङ, मुस्ताङ।
लुम्बिनी प्रदेशः नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु र दाङ।
प्राधिकरणले लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँ जिल्लामा मौसमसम्बन्धी जानकारीसहित अद्यावधिक भएर बस्न भनेको छ। सम्भावित वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य गर्न प्राधिकरणले निर्देशन दिएको छ।
अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्नुहोस्।
डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिनुहोस् र अरूलाई पनि जानकारी दिनुहोस्।
आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जानुहोस्।
प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्नुपर्नेछ र जोखिम देखिए सुरक्षित स्थानमा सर्नुपर्नेछ।
धान तथा अन्य बाली नकाट्नुहोस्, काटेको भए तत्काल भित्र्याउनुहोस्।
प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमनबारे निर्णय गराउनुपर्नेछ।
हवाई उडान प्रभावित


प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ भएका छन्। भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ भने पोखरा विमानस्थल आगमन बन्द छ, ‘डिपार्चर’ मात्रै खुलेको छ। काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको जनाइएको छ। अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। इन्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै एयर इन्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरिएको छ। हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ। त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ। आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बागमती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।