हाम्रो पेज
काठमाडौं, २२ भाद्र । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष (आज) आइतबारदेखि विधिवत् रूपमा सुरु भएको छ। दिवङ्गत परिवारजनको आत्माको शान्ति र स्मरणका लागि विशेष मानिने यो पर्व आश्विन शुक्ल प्रतिपदासम्म चल्नेछ। चाडपर्व, यज्ञयागादि तथा ठूला कार्यहरू गर्नुअघि दिवङ्गत पितृहरूलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृहरू आफ्ना सन्ततिबाट तर्पण, सिदा दान र पिण्डदानको अपेक्षा लिएर बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिहरूमा दिवङ्गत पितृहरूलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले यस पक्षलाई सोह्रश्राद्ध भनिएको हो। यस पक्षमा वार्षिक श्राद्ध बरखी गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइन्छ। असोज कृष्णपक्षभरि पार्वण महालय र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ। यस पक्षबाहेक अन्य बेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका दिवङ्गत भएका पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने परम्परा रहेको छ। असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरू बताउँछन्। दिवङ्गत बुवा भएकाहरू यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरी वा नदी किनारमा विशेष पूजा गर्ने गर्छन्। स्वर्गीय भइसकेका पूर्वजहरूलाई तर्पण दिँदा उनीहरूको आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ। यो समय पितृ ऋणबाट मुक्त हुने र उनीहरूको आशीर्वाद प्राप्त गर्ने विशेष अवसरका रूपमा लिइन्छ। आजबाट सुरु भएको यो १६ दिने पितृ पक्षले परिवारका सदस्यहरूलाई दिवङ्गत पुर्खाहरूप्रति श्रद्धा व्यक्त गर्ने र उनीहरूको स्मरण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।