हाम्रो पेज
विराटनगर, २५ जेठ I मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका अर्का गोताखोरको पनि सव फेला परेको छ I योसंगै दुवै जना गोताखोरको शव फेला परेको छ ।
गत बिहीबारदेखि बेपत्ता रहेका गोताखोर सुरज साउदको शव आज बिहान फेला परेसँगै यो दुःखद घटनाको चार दिने खोजी अभियान टुङ्गिएको छ। नागरिकको जीवन रक्षाका लागि अभ्यास गर्दागर्दै ज्यान गुमाएका यी दुई वीर जवानको निधनले सिंगो राष्ट्र स्तब्ध बनेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, साउदको शव आज बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकै फेला परेको हो। उनी बेपत्ता भएको यो चौथो दिन थियो । कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट विशेष खोजीका लागि खटिएको विशेषज्ञ टोलीले उनको शव नदीबाट बाहिर निकालेको थियो । यसअघि, उनीसँगै बेपत्ता भएका अर्का गोताखोर हरदेव राजवंशीको शव शुक्रबार नै घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परिसकेको थियो।
गत बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा प्रदेशस्तरीय मनसुनजन्य विपद् पूर्वतयारीको अभ्यास (सेमुलेशन) चलिरहेको थियो। नागरिकको जीवन रक्षा गर्ने पवित्र उद्देश्यले आयोजित यही अभ्यासका क्रममा यी दुई कर्तव्यनिष्ठ गोताखोरहरू नदीको तेज बहावमा परेर बेपत्ता भएका थिए। घटनालगत्तै सशस्त्र प्रहरी बलले आफ्नो सम्पूर्ण शक्ति खोजी तथा उद्धारमा केन्द्रित गरेको थियो। दन्तकाली विशेष कार्य तालिम शिक्षालय र नं. ६ गण सप्तरीबाट डीएसपीको कमान्डमा दर्जनौं तालिम प्राप्त सुरक्षाकर्मी र गोताखोरहरू परिचालन गरिएको थियो। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै, सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा ५ जना विशेषज्ञ गोताखोरको टोलीलाई बिहीबार राति नै घटनास्थल पठाइएको थियो। यही विशेषज्ञ टोलीको अथक प्रयासपछि अन्ततः साउदको शव फेला पार्न सफलता मिलेको हो । साउद र राजवंशी दुवैले भर्खरै (२०८०/०८१) सालमा गोताखोरको कठिन तालिम पूरा गर्नुभएको थियो । तालिमपछि उहाँहरु देशका विभिन्न स्थानमा भएका उद्धार कार्यमा खटिँदै आउनु भएको थियो । उहाँहरूको निधनले सशस्त्र प्रहरी बलले दुई युवा, ऊर्जावान र सम्भावना बोकेका सदस्य गुमाएको छ I