
काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । अझै क्याविनेटले पूर्णता पाउन भने सकेको छैन । नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभयो । अन्तरिम प्रधानमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्ति गर्न तयार गरेपनि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि केही बेरअघि सूचीबाट नाम हटाएर २ जनालाई मात्र शपथ गराइएको हो । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गर्नुभएको थियो । तर खगेन्द्र अनेक काण्ड र गम्भीर अपराधका घटनामा जोडिएकाले मन्त्री हुनबाट बञ्चित हुनुभयो । उता यसअघि पर्यटन मन्त्री बनाउने तयारी गरिएका गणपतिलालको अन्तिम समयमा मन्त्रालय फेरिएको थियो। मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिएको छ । खगेन्द्रको विवादले शपथ रोकिँदा गणपतिलालको भने मन्त्रालय हेरफेरले कुरा मिलेन । सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तय भएको थियो । खगेन्द्रसँगै रोकिएका गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो ।मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री कार्कीपछिको वरीयतामा अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर प्रसाद खनाल हुनुहुन्छ । तेस्रो वरीयतामा ऊर्जा र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र चौथो वरीयतामा गृहमन्त्री ओम प्रकाश अर्याल रहनु भएको छ । यस्तै पाँचौ वरीयतामा तीन मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा रहनु भएको छ । उहाँले उद्योग, कानुन र भूमि व्यवस्था मन्त्रालय पाउनु भएको छ भने त्यसपछिको वरीयतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन हुनुहुन्छ । यस्तै सातौँ वरीयतामा कृषिमन्त्री मदन प्रसाद परियार हुँदा सञ्चारमन्त्री बनेका जगदीश खरेलको वरीयता आठौ रहेको छ भने आइतबार थपिनु भएकी सुधाको नवौ र बब्लुको दशौं वरीयता रहेको छ।

