हाम्रो पेज
भारतको हिमाचलमा प्रकृतिको ताण्डव, ३० को मृत्यु, ३४ बेपत्ता
भारतको पर्यटकीय राज्य हिमाचल प्रदेशमा मुसलधारे वर्षाले प्रलय मच्चाएको छ। त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका अनुसार वर्षा र बाढीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ भने ३४ जना अझै बेपत्ता छन्। विभागका विशेष सचिव डीसी राणाले भारतीय संचारमाध्यामहरुलाई जानकारी दिएअनुसार १९ जुनमा मनसुन भित्रिएदेखि नै राज्यमा निरन्तर वर्षा भइरहेको छ। विशेषगरी मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ ब्यास नदी उर्लिएर विनाश निम्त्याएको छ। मन्डीमा मात्रै १० जनाको मृत्यु भएको पुष्टि भएको छ। २९ र ३० जुनमा भएको भारी वर्षाले कल्पनाभन्दा बाहिरको क्षति पुर्याएको छ, राणाले भने,धेरै ठाउँबाट बादल फाटेको र विनाशको खबर आइरहेको छ। भारतीय मौसम विभागले राज्यमा रेड अलर्ट जारी गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
पाकिस्तानमा बाढीको कहरः ६४ को ज्यान गयो, बालबालिका बढी प्रभावित
यस्तै, पाकिस्तानमा पनि मनसुनको कहर भयावह देखिएको छ। विगत एक सातादेखि जारी अविरल वर्षा र आकस्मिक बाढीका कारण कम्तीमा ६४ जनाले ज्यान गुमाएका छन् भने ११७ जनाभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमए ले जनाएको छ। सबैभन्दा बढी क्षति उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १० बालबालिकासहित २३ जनाको मृत्यु भएको छ। स्वात उपत्यकामा मात्रै बाढीले १४ जनालाई बगाएको छ। पूर्वी पञ्जाब प्रान्तमा घर भत्किँदा र बाढीका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ, जसमा ११ जना बालबालिका छन्। दक्षिणी सिन्ध प्रान्तमा १५ र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ। मौसम पूर्वानुमान विभागले शनिबारसम्म थप भारी वर्षा र बाढीको जोखिम कायमै रहेको भन्दै सतर्क रहन अपिल गरेको डान न्युजले उल्लेख गरेको छ । पाकिस्तान विश्वका ती मुलुकहरूमध्ये पर्छ, जो जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर चपेटामा परिरहेको छ। सन् २०२२ मा आएको विनाशकारी मनसुन बाढीले देशको एक तिहाइ भूभाग डुबानमा पारेको थियो, जसमा करिब १,७०० जनाको ज्यान गएको थियो। अहिलेको विपत्तिले त्यो त्रासदीपूर्ण घटनाको स्मरण गराएको छ।