बालेनका लागि झापामा मत माग्दै पत्नी सविना

हाम्रो पेज

१२ माघ २०८२, सोमबार १३:५९

विराटनगर,१२ माघ । झापा ५ अन्तर्गत दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले घरदैलो र मतदाता भेटघाट सुरु गरेको छ । मनोनयन दर्तासँगै केही दिन बसेर उम्मेदवार बालेन्द्र साह बालेन फर्केपछि उहाँकी पत्नी सविना काफ्लेले मतदाता भेटघाटको नेतृत्व गर्नुभएको छ । अहिले बालेनबिनै रास्वपाका स्थानीय नेता कार्यकर्ताले घरदैलो गरेका हुन् । आज बिहान दमक ९ स्थित उराव बस्तीबाट सुरू भएको घरदैलो पाणिनी स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै समापन गरिएको थियो । घरदैलो र मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय समस्या, गुनासा तथा सुझाव संकलन गरिरहेका छन् ।घरदैलो अभियानमा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिएको छ । बालेनलाई भोट माग्न पत्नी सविना पनि दमक आउनुभएको छ । दिउँसो ३ बजेदेखि कमल गाउँपालिका ५ स्थित पाडाजुगी चोकबाट घरदैलो सुरू गर्ने तालिका बनाइएको पार्टीले जनाएको छ । कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र शसस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने बताइएको छ ।