NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, १२ अषाढ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदहरूमा उपनिर्वाचनको तयारी तीव्र पारेको छ । यसै सन्दर्भमा, आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका नागरिकलाई यथाशीघ्र आफ्नो नाम दर्ता गराउन अनुरोध गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार, निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली दर्ता प्रक्रिया स्वतः रोकिने कानुनी व्यवस्था छ । त्यसैले, आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुनका लागि समयमै नाम दर्ता गराउनु अनिवार्य रहेको उहाँले बताउनु भएको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन, चालिसेले भन्नुभएको छ, त्यसैले मताधिकार सुनिश्चित गर्न हामी सम्पूर्ण योग्य नागरिकलाई अविलम्ब आफ्नो नामावली दर्ता गराउन अनुरोध गर्दछौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले भेटवार्ता गरेको थियो । छलफलमा खासगरी प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा कार्तिक दोस्रो साता निर्वाचन गर्नेबारे प्रारम्भिक परामर्श भएको आयोगले जनाएको छ ।