जेनजीको आँधीबेहरीले संसद भवन घेर्योः काठमाडौँमा कर्फ्यू

हाम्रो पेज

२३ भाद्र २०८२, सोमबार १३:२०

काठमाडौँ, २३ भाद्र । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, व्याप्त भ्रष्टाचार र चरम बेथिति विरुद्ध सडकमा उत्रिएको जेनजी पुस्ताले आज नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ अध्याय रचेको छ। माइतीघरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन नयाँ बानेश्वरस्थित संसद भवनमा पुग्दा नियन्त्रण बाहिर गएको छ, जहाँ युवा प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल र गेट तोडेर भित्र प्रवेश गरेका छन्। संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काइएको छ भने अन्य तीनवटै गेट परिसर पनि प्रदर्शनकारीको कब्जामा रहेको जनाइएको छ। युवाको यो अभूतपूर्व आक्रोशलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, हवाइफायर र लाठी प्रहार गरेको छ, जसका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। अवस्था थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ बानेश्वर क्षेत्रमा दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरिएका छन्। स्कुल कलेजको पोशाकमा रहेका विद्यार्थीहरूले हामी बोल्छौँ, हामी लड्छौँ, सञ्जाल होइन, भ्रष्टाचार बन्द गर,असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ जस्ता सशक्त नाराहरू लगाएका प्लेकार्ड बोकेका थिए।


सन् १९९७ देखि २०१२ मा जन्मेका डिजिटल नेटिभ्स जेनजी पुस्ताले नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद, कृपावाद र युवा पलायन विरुद्ध यो विद्रोह थालेका हुन्। यसअघिका आन्दोलनभन्दा फरक यो प्रदर्शनमा कुनै राजनीतिक दल वा नेताको संलग्नता नदेखिएको र युवाहरूले स्वतःस्फूर्त रूपमा आफ्ना माग राखेको बताइएको छ। उनीहरूले आफ्नो भविष्य, रोजगारी, अवसर र स्वतन्त्र आवाजको अधिकारको लागि सङ्घर्ष गरिरहेका छन्। प्रदर्शन उग्र र अशान्तपूर्ण बनेपछि जेनजी नेपालु नामक फेसबुक पेजबाट प्रदर्शनकारीहरूलाई तत्काल सुरक्षित रूपमा फर्किन आह्वान गरिएको छ। उक्त पेजले स्वार्थ प्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाएको भन्दै सबैलाई घर फर्कन आग्रह गरेको छ।

कर्फ्यू आदेश जारी भएपछि प्रदर्शनकारीहरू संसद भवन परिसरबाट तितरबितर भई रत्नराज्य स्कुल, थापाथली र मीन भवन क्याम्पस वरपर जम्मा हुन थालेका छन्।