हाम्रो पेज
विराटनगर, २१ आश्विन । कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितका लागि राहत सामग्री वितरण गरेको छ । विपद्का समयमा मुख्य हिक्मत कार्की नै काठमाडौमा गएर बसेको भन्दै आलोचना भइरहेका बेला आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टरको प्रयोग गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार दैनिक उपभोग्य खाद्य सामग्री चामल, दाल, आलु, नुनतेल, बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपाल पठाइएको छ । प्रदेश सरकारले पहिलो चरणमा इलामको माङ्सेबुङका पीडितको लागि त्रिपाल ५ थान, चामल १० बोरा, म्याट्रेस ४६ थान, ५० केजी दाल ५० केजी, आलु ५० केजी, तेल २० लिटर र १० प्याकेट बेसार पठाएको प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् महाशाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिनुभयो । विपद्का बेला काठमाडौंमा रहनु भएका मुख्यमन्त्री हिक्मतकार्कीले विपद्पछि विराटनगर फर्किएर स्थानीय पालिकासँगको सहकार्यमा माङसेबुङ र इलाम नगरपालिका क्षेत्रका प्रभावितलाई राहत सामाग्री वितरण गर्नुभएकोछ । आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा गरेर २ सयजनालाई पुग्ने गरी राहत सामाग्री लिएर कार्की इलाम पुगेको बताउनुभयो ।

आजै माई नगरपालिका क्षेत्रका प्रभावितलाई पनि राहत सामग्री वितरणको तयारी छ । विराटनगर भन्सार कार्यालयको गोदाम र सुनसरीको इनरुवामा राहत मौज्दात राखिएको छ । अहिले बिहान इलामको माङ्सेबुङ र इलाम सदरमुकाममा हेलिकप्टरमार्फत राहत सामग्री पुगेको छ । सबै प्रभावित क्षेत्रमा राहत तथा बन्दोबस्तीका सामग्री आजै पुर्याइने बताइएको छ । बाढीपहिरोले सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो । यसअघि इलाम पहिरोमा ज्यान गुमाएका परिपारलाई कोशी प्रदेश सरकारले प्रति परिवार तत्काल एक लाख दिने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले यस्तो जानकारी दिनु भएको हो । पछिल्लो दुई दिनको विपद्मा परी कोशी प्रदेशमा मात्रै ४६ जनाको मृत्यु भएको छ । इलाममा मात्रै पहिरोमा परी ३७ जनाको ज्यान गएकोछ ।