search logo
NOTIFICATIONS

आगामी २४ घण्टा देशैभर भारी वर्षा, १७ जिल्लामा बाढीको उच्च जोखिम

हाम्रो पेज

२८ श्रावण २०८२, बुधबार १२:२६

काठमाडौँ, २८ श्रावण । मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका अधिकांश भागमा निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशैभर मध्यमदेखि भारी वर्षा हुने र केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। वर्षाका कारण नदीहरूको बहाव बढ्दो क्रममा रहेकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले देशभर मनसुन पूर्ण रूपमा सक्रिय भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशभर पूर्ण बदली रही अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्छ।आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको क्रम थप बढ्ने देखिन्छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ।आज बिहान मात्रै दार्चुलाको गोकुलेश्वरमा २३।४ मिमि, बाजुराको ओलेनामा १९।८ मिमि र नुवाकोटको त्रिशूलीमा १८।४ मिमि वर्षा रेकर्ड भएको छ। लगातारको वर्षाले देशभरका नदी तथा खोलाहरूमा पानीको बहाव ह्वात्तै बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार, कोसीका सहायक नदीहरू, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास पुगेको छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला तथा राप्ती नदीको बहाव पनि बढ्दो क्रममा छ।महाशाखाले विशेषगरी साना नदीहरूमा आकस्मिक बाढीको जोखिम औंल्याएको छ । इलाम, झापा, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर यस्तै तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सुनसरी, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, नुवाकोट, रसुवा, धादिङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, रुपन्देही, कपिलवस्तु, डोल्पा, पाल्पा, गुल्मी, बागलुङ र म्याग्दीमा आकस्मिक बाढीको जोखिम आंैल्याइएको छ ।
विभागले बाढी र पहिरोको जोखिम उच्च रहेकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिमयुक्त पहाडी भूभाग र तराईका डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जानसमेत अनुरोध गरेको छ। भारी वर्षाले सडक तथा हवाई यातायातमा समेत अवरोध ल्याउन सक्ने भएकाले यात्रा गर्नुअघि मौसम र बाटोको अवस्थाबारे जानकारी लिन पनि आग्रह गरिएको छ।