search logo
NOTIFICATIONS

देशभर मनसुनको कहरः तराईमा बाढी र डुबान, पहाडमा पहिरोले राजमार्ग अवरुद्ध

हाम्रो पेज

२० श्रावण २०८२, मंगलवार ११:२०
दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिम जोड्ने राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका -३,राम्रीस्थित सडकमा झरेको पहिरो । वर्षाका कारण गएराति पहिरो झरेर सडक अवरुद्ध भएपछि यो सडक हुँदै गुड्ने सवारीसाधन रातिदेखि नै सडकमा रोखिएका छन् । तस्बिरः रासस
विराटनगर २० श्रावण । हाल देशभर मनसुन सक्रिय रहँदा तराईका जिल्लाहरू बाढी र डुबानको चपेटामा परेका छन् भने पहाडी क्षेत्रमा पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ। कोशी र पश्चिम राप्ती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेको छ भने मध्यपहाडी लोकमार्गसहित विभिन्न सडकखण्ड पहिरोले बन्द भएका छन्। मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा पनि भारी वर्षाको सम्भावना औंल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पूर्वी तराईः कोशीमा खतरा रातो बत्ती बालियो, उदयपुर उच्च जोखिममा
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा छ। मंगलबार विहान १० बजे को मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७३ हजार ४० क्युसेक प्रतिसेकेन्ड रहेको छ। पानीको बहाव डेढ लाख क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ। ब्यारेजका ५२ मध्ये १९ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। स्मरणीय छ, २०६५ भदौमा करिब एक लाख ६८ हजार क्युसेक बहाव हुँदा नै सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो। कोशीमा पानीको सतह बढेसँगै उदयपुरको बेलका नगरपालिकाका २, ३, ६, ८ र ९ नम्बर वडाहरू डुबानको उच्च जोखिममा परेका छन्। कोठु, डुम्रीबोट, सिसौलीलगायतका क्षेत्रमा नदीको पानी किनार नाघेर बस्तीतर्फ पस्न थालेको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको टोलीले जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन र सम्भावित विपद्का लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखिएको छ। गएराति दाङ, बाँके र बर्दियामा भएको भीषण वर्षाका कारण बबई, पश्चिम राप्ती र डुडुवा खोला लगायतका नदीहरूमा आकस्मिक बाढीको जोखिम बढेको छ। बाँकेको पश्चिम राप्ती नदीमा पानीको सतहले कुसुम र राप्तीसोनारी जलमापन केन्द्रमा सतर्कता तह पार गरिसकेको छ र जलस्तर अझै बढ्दो क्रममा छ। बाढी पूर्वानुमान महाशाखाले नदीको तटीय क्षेत्र र होचा भू–भागका बासिन्दालाई आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। लगातारको वर्षाले पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढाएको छ, जसका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको काठेखोला–६, ताराखसेमा पहिरो जाँदा राष्ट्रिय गौरवको यो आयोजना पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले पश्चिम बागलुङ, रोल्पा, रुकुमदेखि पोखरा, काठमाडौँसम्मको सवारी आवागमन ठप्प भएको छ। सिद्धबाबा सडकखण्डको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिरनजिकै ठूलो चट्टानसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध छ। निरन्तरको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल सडक खुलाउन कठिन भएको र जोखिम बढेको प्रहरीले जनाएको छ। कालीगण्डकी करिडोरका तीन खण्डसहित गुल्मीका चार प्रमुख सडक पहिरोले अवरुद्ध भएका छन्। रिडी–वामीटक्सार र रिडी–खज्र्याङ सडक पनि बन्द छन्। साथै, कालीगण्डकी नदीमा पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई थप सतर्क रहन विभागले आग्रह गरेको छ।