search logo
NOTIFICATIONS

आज संविधान दिवस, संविधानसभाबाट संविधान जारी भएको १० बर्ष पुरा

हाम्रो पेज

३ आश्विन २०८२, शुक्रबार ०७:५२
विराटनगर, ३ अशोज । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज १० वर्ष पूरा भएको छ । २०७२ असोज ३ मा दोस्रो संविधानसभाले संविधान जारी गरेको थियो ।
नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वानसमेत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक अवस्थामा विभिन्न झाँकीलगायतका कार्यक्रम भने कमै मात्रामा हुने भएका छन् । संविधान कार्यान्वयनपछिको अवस्था, उपलब्धि, कमीकमजोरी, झेल्नुपरेका समस्या लगायतका विषयमा बहस, छलफल तथा अन्तरक्रिया हुने भनिएकोमा पछिल्लो आन्दोलनबाट जनधनको क्षति तथा विषम अवस्थाले त्यस्ता कार्यक्रम नहुने भएका छन् ।

संविधानसभाबाट संविधान जारी गर्ने वि. सं. २००७ साल देखिको नेपाली जनताको इच्छा २०७२ मा आएर मात्रै पूरा भएको हो । तर, संविधान विभेदकारी भएको भन्दै मधेसकेन्द्रित दल, आदिवासी जनजातिलगायतले अझै असन्तुष्टि जनाउँदै आएका छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । यो संविधानले मुलुकलाई संघीयतामा लग्यो । २०७२ को संविधानको महत्वपूर्ण विषय भनेकै संघीयता हो । यही संविधान बमोजिम संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भयो । यो संविधान जारी पछि २०७४ र २०७९ गरी दुई पटक स्थानीय तह र संघीय संसद तथा प्रदेशसभाको निर्वाचन भएको छ । संविधानको विरोध गरिरहेका मधेश केन्द्रित दलहरु यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भईरहेका छन् । संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा आम नेपालीको थियो त्यो पूरा नहुँदा भने निराशा उत्पन्न भएको छ । सरकारले संविधान दिवसको अवसरमा आज देशैभर सार्वजनिक विदा दिएको छ ।