मोरङ कारागारका थुनुवाको मृत्यु, जबरजस्ती करणीको मुद्दा फैसला हुन बाँकी

हाम्रो पेज

२६ असार २०८२, बिहीबार १३:५९

विराटनगर ,२६ अषाढ । जिल्ला कारागार, मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका विराटनगर महानगरपालिका–५ निवासी ४० वर्षीय सन्तोष पालको उपचारका क्रममा बुधबार साँझ कोशी अस्पतालमा मृत्यु भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार, पाललाई जिल्ला अदालत मोरङले २०८१ साल मंसिर ११ गतेको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा अदालतमा विचाराधीन अवस्थामै थियो र अन्तिम फैसला आउनुअघि नै उनको निधन भएको हो । जेलर ढुंगेलले जानकारी दिएअनुसार, पाललाई शरीर सुन्निने र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गत असार १२ गते उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार साँझ ६ः२५ बजे उनको निधन भएको अस्पतालले पुष्टि गरेको हो । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइसकिएको जेलर ढुंगेलले बताउनुभयो ।