हाम्रो पेज
काठमाडौं, २६ भाद्र । देशमा जेनजी आन्दोलनले उग्र रूप लिइरहेका बेला रामेछाप कारागारमा कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। बिहीबार बिहान भएको यस घटनामा २ जना पुरुष कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्यामकृष्ण थापाका अनुसार बिहीबार बिहान ७ बजेतिर कैदीबन्दीले कारागारका विभिन्न च्यानलमा लगाएका ताल्चाहरू फोडेर भाग्ने प्रयास गरेका थिए। बाहिर ननिस्कनु गोली चल्न सक्छ भनेर जति सम्झाउँदा पनि नमानेर निस्केपछि बाध्य भएर गोली चलाउनुपरेको हो, सीडीओ थापाले भन्नु भएको छ । गोली लागेर मृत्यु भएका कैदीहरूको परिचय भने खुलिसकेको छैन। घटनालगत्तै कारागारलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। कारागारमा १६ महिला र ३१८ पुरुष गरी कुल ३३४ जना कैदी थिए। मंगलबार राति १० बजेदेखि देशको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ। जेनजी आन्दोलन उग्र बनेपछि उत्पन्न असहज परिस्थितिका कारण बन्द भएका बैंकहरू भने बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएका छन्। गएको सोमबार जेनजी आन्दोलनले उग्र रूप लिएसँगै काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा बैंकहरूमा आगजनी तथा लुटपाट भएको थियो। यसका बावजुद, बैंकका सीईओहरूको संगठन बैंकर्स संघले बिहीबार चार घण्टाका लागि बैंकहरू खुलाउने निर्णय गरेको हो। बिहान १० बजेदेखि सञ्चालनमा आएका बैंक दिउँसो २ बजेसम्म खुला रहनेछन्। संघले अधिकतम तीनवटा शाखासम्म खोल्न निर्देशन दिएको छ। संघको यस निर्णयलाई पालना गर्दै काठमाडौँका वाणिज्य बैंकहरूले आफ्ना शाखा कार्यालयहरूबाट सेवा प्रदान गरिरहेका छन् भने विकास बैंकहरूले पनि फाट्टफुट्ट रूपमा सेवा दिन थालेका छन्। यसैगरी, अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आजबाट आंशिक रूपमा सेवा सुचारु गरेका छन्।