
विराटनगर, २२ अषाढ । भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । जिल्लाको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले एकै घरभित्र चार जनाको हत्या भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार हत्या गरि मारिनेमा ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु, छोरी मनिषा र छोरा सपन हुन् । बेलबहादुरका ज्वाईं राजेन्द्र राईले चारै जनाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थल भन्दा केही पर घाइते अवस्थामा भेटिएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । शनिबार राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएको लगत्तै अस्थायी प्रहरी चौकी ओख्रे र जिल्ला प्रहरीको टोली तत्कालै घटनास्थलमा खटिएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको तिमल्सिनाले जानकारी दिनुभयो ।