
चीन,१६ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनमा आयोजित शांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपालको राष्ट्रिय हित, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय चासोका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा रहनुभएका प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री ओलीले यस अवसरमा कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। यी भेटघाटहरूले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
चीन पुगेलगत्तै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो। यस भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसमक्ष असन्तुष्टि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पुष्टि गर्नुभएको छ। प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङलाई लिपुलेक नेपालको भूभाग भएको विषय चीनले बुझ्नुपर्नेमा जोड दिनुभएको थियो। ऐतिहासिक दस्तावेजहरू र सन् १८१६ को सुगौली सन्धिलाई उल्लेख गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको सार्वभौम भूभाग भएको स्मरण गराउनुभयो। उहाँले भूगोल र जनसंख्याले मुलुक सानोठूलो भए पनि सार्वभौमिकताका हिसाबले सबै समान हुने कुरा बताउनुभयो।

नेपाली प्रतिनिधिले जानकारी दिएअनुसार, प्रधानमन्त्रीले यो विषयलाई वान टु वान भेटमा मात्र नभई प्रतिनिधिमण्डलसहितको भेटवार्तामा बलियो अडानका साथ उठाउनुभएको थियो। उहाँले नेपाललाई जानकारी नदिई र सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति स्पष्ट शब्दमा आपत्ति जनाउनुभयो। प्रधानमन्त्री ओलीले नेपालको संवेदनशीलता बुझेर चीनले यस विषयमा सघाउने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो। चिनियाँ राष्ट्रपतिले नेपालको दाबीमा कुनै पनि प्रकारको कमी नहुने र परम्परागत रूपमा प्रयोग हुँदै आएको विषयमा नेपालको दाबीमा कुनै सम्झौता वा दाबी नहुने भन्ने शान्त कूटनीतिक शैलीमा प्रतिक्रिया दिनुभएको थियो। प्रधानमन्त्री ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गर्नुका साथै जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभएको थियो। परराष्ट्र सचिव अमृतबहादुर राईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उल्लेख छ। साथै, लिपुलेक मुद्दामा नेपालको अडानबारे पनि स्पष्ट पारिएको छ।