धरानका मेयरको श्रम संस्कृति पार्टीलाई मान्यता, चुनाव चिन्ह माटो

हाम्रो पेज

१६ कार्तिक २०८२, आईतवार १६:११

कामठमाडौं, १६ कार्तिक । धरानका मेयर हर्कराज हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले आधिकारिक मान्यता प्रदान गरेको छ । साम्पाङ आइतबार आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्नुभएको छ । निर्वाचन आयोगले दर्ता प्रक्रिया पूरा गर्दै पार्टीलाई चुनाव चिन्हका रूपमा ‘माटो’ प्रदान गरेको छ।श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ । आइतवार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाई छ । उहाँले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनु भयो । उहाँले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नुभयो । देश विदेशी ऋणले मात्रै नचल्ने बताउनुहुँदै उहाँले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनु भयो । उहाँले आफूहरुले दलको झण्डा नराख्ने बताउनु भयो । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाई छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गर्नुभयो । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले जानकारी दिनुभयो । श्रम संस्कृति पार्टीको केन्द्रीय समितिमा २८ सदस्य रहेका छन् । पाँच पदाधिकारीमध्ये पार्टी अध्यक्ष स्वयं हर्क साम्पाङ रहनु भएको छभने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई, र प्रवक्तामा अरुण गुरुङ चयन हुनुभएको छ । गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिनु भएको थियो । स्थानीय सरकार सञ्चालनमा ‘जनताको श्रम र सहभागिता’लाई राजनीतिक मूलधारमा ल्याउने लक्ष्यसहित पार्टी गठन गरिएको बताइएको छ ।