search logo
NOTIFICATIONS

रसुवा बाढी हिमताल विस्फोटपछि आएको पुष्टि, १० जनाको शव भेटियो

हाम्रो पेज

२६ असार २०८२, बिहीबार १२:४१

काठमाडौं, २६ अषाढ । जल तथा मौसम विज्ञान विभागले गत मङ्गलबार रसुवास्थित नेपाल चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढी ‘हिमताल विस्फोट’बाटै सिर्जित भएको आधिकारिक रूपमा पुष्टि गरेको छ । विभागले सेन्टिनेल भू उपग्रहबाट प्राप्त तस्बिरहरूको विस्तृत विश्लेषणका आधारमा उक्त निष्कर्ष निकालेको हो । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, चीनतर्फको ल्हेन्दे खोलाको जलाधार क्षेत्रमा रहेको ‘सुप्राग्लेशियल’ हिमनदीको सतहमा बनेको ताल फुट्दा बाढी आएको देखिन्छ ।

उहाँले घटनाको प्राविधिक पक्षबारे स्पष्ट पार्दै भन्नुभयो, “उक्त स्थान रसुवागढी सीमाबाट करिब ३६ किलोमिटर उत्तर, समुद्र सतहदेखि लगभग ५,१५० मिटरको उचाइमा पर्दछ । बाढी आउनुअघि करिब ० दशमलव ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सो हिमताल, बाढीपश्चात् ०दशमलव६० वर्ग किलोमिटरमा खुम्चिएको पाइएको छ । तालको क्षेत्रफलमा आएको यो उल्लेखनीय कमीले ठूलो मात्रामा पानी बाहिरिएको र त्यसले बाढीको रूप लिएको पुष्टि गर्दछ ।” जल तथा मौसम विज्ञान विभागको यो निष्कर्षलाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड का वैज्ञानिकहरूको अध्ययनले समेत समर्थन गरेको छ । विभागले यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा राखेको जनाएको छ । साथै, भूउपग्रहबाट प्राप्त हुने नयाँ तस्बिरहरूले घटनालाई थप स्पष्ट पार्ने विश्वास व्यक्त गरिएको छ । विभागले हिमालय क्षेत्रका यस्ता जोखिमहरूको निरन्तर अध्ययन र निगरानी जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।


रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परिसकेको छ । उद्धारका लागि निस्किएको प्रहरी टोलीमध्ये श्रेष्ठसहित तीन प्रहरी बेपत्ता भएका हुन् । प्रहरीबाहेक ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण नागरिक बाढीमा परेका हुन् । प्रहरीले हालसम्म दशजनाको शव फेला पारेको छ । डीआईजी घिमिरेका अनुसार शव फेला परेकाहरू बेपत्ता भएकाहरूमध्येकै हुन् । “हालसम्म दशजनाको शव फेला परेको छ । त्यसमा एकजना प्रहरी कर्मचारीको सनाखत भइसकेको छ । अन्यको सनाखत हुन बाँकी छ,” । बेपत्ताको सूची सुरुवाती २० बाट नबढेका कारण शव उनीहरूकै भएको प्रहरीको विश्वास छ । प्रहरीका अनुसार बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाउँदा ठूलो मात्रामा कन्टेनरहरू समेत बगाएको छ । हाल बाढी प्रभावित क्षेत्रका स्थानीयको उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ ।