
एजेन्सी १६ भाद्र । आइतबार मध्यरातमा अफगानिस्तानमा गएको ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। काबुलका अधिकारीहरूले हालसम्म २५० भन्दा बढीको मृत्यु भएको पुष्टि गरेका छन् भने, सयौं घाइते भएका छन्। पाकिस्तानको सीमा नजिकैको दुर्गम क्षेत्रमा गएको यस भूकम्पले ५०० भन्दा बढीलाई घाइते बनाएको र उनीहरूको नाङ्गरहार तथा कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। स्थानीय समयअनुसार राति ११ः४७ बजे गएको भूकम्पको झट्का अफगानिस्तानको राजधानी काबुल ९करिब २०० किमि टाढा र पाकिस्तानको राजधानी इस्लामाबाद करिब ४०० किमि टाढा सम्म महसुस गरिएको थियो। पहिलो ठूलो झट्कापछि ४ दशलमव ७, ४ दशमलव ३ र ५ म्याग्निच्यूडका थुप्रै पराकम्पहरू गएका थिए, जसले स्थानीय बासिन्दामा थप त्रास फैलाएको छ। भूकम्प प्रभावित प्रान्तहरू दुर्गम र पहाडी भूभागमा अवस्थित छन्, जहाँका घरहरू सामान्यतया भूकम्प प्रतिरोधी छैनन्। यसले गर्दा मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। कुनार प्रान्तका प्रहरी प्रमुखका अनुसार, बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द भएकाले उद्धार कार्य हवाई मार्गबाट मात्र सम्भव भएको छ। तालिबान सरकारका अधिकारीहरूले आफ्ना स्रोतसाधन सीमित रहेको भन्दै अन्तर्राष्ट्रिय सहायता संगठनहरूलाई प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन्। अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीसीले पनि यस भूकम्पमा सयौं मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ। दर्जनौं घर भग्नावशेषमुनि पुरिएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने त्रास छ।

अफगानिस्तान भारतीय र यूरेसियन प्लेटहरू भेटिने भूकम्पीय फल्टलाइनमा अवस्थित भएकाले यो क्षेत्र बारम्बार भूकम्पको चपेटामा पर्ने गर्दछ। सन् २०२२ मा पूर्वी अफगानिस्तानमा गएको ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्पमा १,००० जनाको मृत्यु भएको थियो भने सन् २०२३ अक्टोबर ७ मा आएको विनाशकारी भूकम्पमा ४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो, जसले यस क्षेत्रको भूकम्पीय संवेदनशीलतालाई थप उजागर गरेको छ। अगस्ट महिनामा मात्र ५दशमलव४, ४दशमलव९, ४दशमलव२ र ४दशमलव३ म्याग्निच्यूडका चारवटा भूकम्प गएका थिए।