search logo
NOTIFICATIONS

रसुवा बाढीः ३ प्रहरी र ६ चिनियाँसहित १८ बेपत्ताको पहिचान, चीनमा हिमताल फुटेको आशंका(बाढीपछिको तस्विर)

हाम्रो पेज

२४ असार २०८२, मंगलवार ११:५३
विनाशकारी बाढीमा बेपत्ता भएका सबै १८ जनाको पहिचान खुल्यो, जसमा ३ प्रहरी, ६ चिनियाँ र ९ नेपाली नागरिक छन् ।
विभागले वर्षा नभई तिब्बतमा हिमताल फुटेको हुन सक्ने बलियो आशंका व्यक्त ग¥यो ।
बाढीको कारण पत्ता लगाउन भूउपग्रहको तस्बिरका लागि ’इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट’ जारी ।
रसुवाकै उत्तरगयामा खोला किनारमा मानव खुट्टा फेला
सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीद्वारा ९ जनाको उद्धार

काठमाडौं २४ अषाढः रसुवाको भोटेकोसीमा चीनतर्फबाट आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका सबै १८ जनाको पहिचान खुलेको छ। बेपत्ता हुनेमा उद्धारमा खटिएका तीन प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना नेपाली नागरिक रहेका छन्। बाढीको कारण सामान्य वर्षा नभई तिब्बतमा हिमताल फुटेको हुन सक्ने बलियो आशंका गर्दै जल तथा मौसम विज्ञान विभागले भूउपग्रह मार्फत अनुसन्धान सुरु गरेको छ। यसैबीच, रसुवाकै एक खोला किनारमा मानव खुट्टा फेला परेपछि घटनाको त्रासदी झनै बढेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मंगलबार बिहान गोसाइकुण्ड गाउँपालिका–२, टिमुरे क्षेत्रबाट बेपत्ता भएका १८ जनाको पूर्ण विवरण प्राप्त भएको छ।


बेपत्ता हुनेहरूको सूचीः
नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत)ः
प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ
प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी जवान लोकेन्द्र बोहोरा
चिनियाँ नागरिकः
यु युइ
ली हुवाछिन
याङ चुआन
यु हाइ हाङ
यु छिआओ छुइ
जोउ योङ
नेपाली नागरिक (चालक सहित)ः
जिपन चौधरी (बर्दिया)
सन्तोष दइत (बर्दिया)
बुद्धिराम थारू (बर्दिया)
लक्ष्मीनारायण थारू (बर्दिया)
सुरेश थारू (बर्दिया)
नरेन्द्र विक (बागलुङ)
फुर्वा लामा (सिन्धुपाल्चोक, चालक)
गोविन्द मोक्तान (सिन्धुपाल्चोक, चालक)
लोकमान तामाङ (सिन्धुपाल्चोक, चालक)


बाढीको वितण्डाबीच रसुवाको उत्तरगया गाउँपालिका–५, उत्तरगयाधामस्थित खोला किनारमा एउटा दाहिने खुट्टा फेला परेको डीएसपी थापाले जानकारी दिनुभएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली खटाइएको छ। जल तथा मौसम विज्ञान विभागले यो बाढी सामान्य वर्षाका कारण नआएको स्पष्ट पारेको छ। “प्रारम्भिक रूपमा यस बाढी वर्षाको कारण उत्पन्न भएको देखिँदैन,“ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भोटेकोसी नदी जलाधारको तिब्बत क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन अनुसन्धान थालिएको छ।“ बाढीको स्रोत र असरबारे विस्तृत अध्ययन गर्न विभागले सेन्टिनेल एसिया प्लेटफर्ममार्फत तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न ’इमरर्जेन्सी अब्जरभेसन रिक्वेस्ट’ जारी गरेको छ। यसबाट तिब्बततर्फ कुनै हिमताल फुटेको वा अन्य भौगर्भिक घटना भएको हो भन्ने यकिन गर्न मद्दत पुग्नेछ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हालसम्म ९ जनाको सकुशल उद्धार गरेको छ भने बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। तर, भौगोलिक विकटता र बाढीले पु¥याएको क्षतिका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उहाँले बताउनु भएको छ ।